१९ असाेज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार सम्पन्न दुई खेलहरुमा साविककाे विजेता मुम्बई इन्डियन्स र साविककाे उपविजेता चेन्नई सुपर किंग्स विजयी भएका छन् ।
यूएईको शारजाह क्रिकेट रंगशालामा आयोजित पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै मुम्बई विजयी भएको हो ।
टस जितेर ब्याटिङ पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०८ रन जोड्यो । २०९ रनको लक्ष्य पाएको हैदराबादले ७ विकेट गुमाउँदै १ सय ७४ रन मात्र बनाउन सक्यो ।
जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लेको छ । हालसम्म पाँच खेल खेल्दा तीनमा जित र दुईमा हार बेहोरेको मुम्बईले ६ अंक जोडेको छ । हैदराबाद भने चार अङ्कसहित छैठौँ स्थानमा छ ।
त्यस्तै हिजै भएको अर्को खेलमा चेन्नईले शानदार जित निकाल्यो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा किङ्स इलेभेन पन्जाबलाई १० विकेटले हराउँदै गर्दै चेन्नईले प्रतियोगितामा आफ्नो दोस्रो जित समेत निकालेको हो ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।
१ सय ७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको चेन्नईले बिना कुनै विकेटको क्षतिमा १७ ओभर ४ बलमा लक्ष्य भेट्टाउन सफल भयो ।
अब आज आईपीएलमा एउटा खेल मात्र हुँदैछ । नेपाली समायानुसार साँझ सात बजेर ४५ मिनेटमा सुरु हुने खेलमा रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।