प्रदेश ५ राजधानी विवाद : प्रदेश ५ को बैठकमा कांग्रेसका तीन सांसदद्वारा तोडफोड, बैठक भोलिसम्मका लागि स्थगित
Monday, October 5th, 2020, 4:58 pm
amit
बुटवल, १९ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका छन्।
प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।
नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरेका थिए भने कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरेका थिए।
यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिएका थिए। कांग्रेस सांसदहरु वसिउद्दिन खा, रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।
कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ। उसले प्रदेशसभाबाट दाङ स्थायी राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गरेको हो।
तोडफोडमा उत्रिएका तीनै सांसद प्रत्यक्ष निर्वाचित हुन्।