नेपाल एयरलाइन्सबाट गएका ६ जना नेपालीमा कोरोना देखिएपछि हङकङले लगायो दुई साताका लागि प्रतिबन्ध
Tuesday, October 6th, 2020, 12:31 pm
amit
एजेन्सी, २० असोज । हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई साता (अक्टोबर ४ देखि १७) सम्म त्यहाँ उडान भर्न प्रतिबन्ध लगाएको छ।
नेपाल एयरलाइन्समार्फत हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको द साउथ चाइना पोष्टको समाचारमा उल्लेख गरिएको छ।
हङकङमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमध्ये ४ जना स्थानीय र ६ जना नेपालबाट गएका सहित सातजना विदेशी थिए।
नेपाल सरकारले नेपालबाट बाहिरिँदा र भित्रदाँ अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको भएपनि हङकङ गएका ६ जनामा कोरोना संक्रमण देखिएको हो। नेपाली विमानमा कोरोना संक्रमित भएको भन्दै हङकङले नेपाल एअरलाइन्स माथि कारबाही गरेको हो।
नेपालबाट हङकङ पुगेका संक्रमित चारजना महिला र दुईजना पुरुष रहेका छन् । उनीहरूको उमेर ३० देखि ७२ वर्ष रहेको जनाइएको छ।
उनीहरू सबै अक्टोबर ३ का दिन नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए४०९९’ मा हङकङ गएका थिए।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानले नेपाल एयरलाइन्सले लापरबाही गरेका कारण ‘५९९ एच प्रिभेन्सन एण्ड कन्ट्रोल अफ डिजिज रेगुलेसन’ अन्तर्गत कारबाही गरिएको जनाएका समाचारमा उल्लेख गरिएको छ।