राष्ट्रियसभा अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन
Tuesday, October 6th, 2020, 3:13 pm
amit
काठमाण्डौ, २० असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माण कार्य सन्तोषजनक रहेको बताएका छन्।
सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिडले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको उनले बताएका छन् । संसद भवन निर्माण कार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरी विकास निर्माण लगायत अन्य क्षेत्रमा गरेको असरको तुलनामा काम सन्तोषजनक रहेको बताएका छन्।
समयभन्दा अगाडी नै निर्माण सम्पन्न गर्न तीन सिफ्टमा २४ घण्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
आयोजना प्रमुख दिलिप भण्डारीले तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको आयोजनाको निर्माणमा कोभिडका कारण केही प्रभाव परेको बताए । बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभएपनि तोकिएको समयभन्दा अगाडी नै निर्माणकार्य सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको उनले बताएका छन्।
आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्य अनुसार काम हुन सकेको छैन । परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ।
साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ । छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू अटाउने खालको एउटा हल समेत निर्माण गरिने छ । परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुने बताईएको छ।