अब पाकिस्तानमा टिकटक चलाउन नपाइने
Sunday, October 11th, 2020, 7:00 am
amit
२५ असोज, पाकिस्तान । पाकिस्तानले पनि सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चिनियाँ एप टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको हो ।
टिकटकमाथि यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।
पाकिस्तानले अनैतिक सामग्रीहरु भएको निश्कर्ष निकाल्दै शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
त्यहाँका अधिकारीहरूले चीनसँगको सदाबहार मित्रता भएपनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाइ छ । उनीहरुले टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।
पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।
मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताहरुको दाबी छ ।