भदौरे भीरबाट स्कारपियो खस्यो, घटनास्थलमै पाँच जनाको मृत्यु
Sunday, October 18th, 2020, 10:32 am
amit
२ कात्तिक, ओखलढुंगा । ओखलढुंगा र उदयपुरको सीमानामा पर्ने भदौरे भीरमा स्कारपिओ दुर्घटना भएको छ । आइतबार बिहान भएको सो दुर्घटनामा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ ।
राति १ बजे भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो दुर्ङटनामा परेको थियो । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भीरमा दुर्घटना भएको हो ।
उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ-९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की र २७ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की रहेका छन् ।
यसैगरी उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० वर्षीय महेशबहादुर बि.क. रहेका छन् । भदौरेस्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसी दुर्घटना हुदा स्कारपियोमा सवार मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्कारपियो चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ वर्षीया कल्पना सार्की र ३१ वर्षीया कुमारी सार्की घाईते भएकोमा चालक खड्का र सवार कल्पनालाई थप उपचारको लागि विराटनगर तर्फ पठाइएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।