विद्यालयकै सटरमा मदिरा बिक्री
Tuesday, March 23rd, 2021, 12:40 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १० चैत
बाँकेको राँझास्थित आदर्श माविले आफ्नै सटरमा मदिराजन्य र सुर्तिजन्य पदार्थ बिक्री गर्न दिइरहेकोबारे सम्बद्धहरुले बेवास्ता गरिरहेका छन् । उक्त विद्यालयले भाडामा दिएका विद्यालय परिसकै सटरमा मदिराजन्य पदार्थ बिक्री भइरहेको छ । तर, त्यसबारे जानकारी हुँदाहुँदै पनि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, वडाध्यक्ष, नेपालगन्ज उप–महानगरपालिका, प्रमुख जिल्ला अधिकारीलगायत जिम्मेवारी निकाय र व्यक्तिहरु उदासिन छन् ।
विद्यालयको परिसरमा विद्यालय कै सटरमा मदिरा र गुट्खा बिक्री भइरहेकोबारे कालपृष्ठ दैनिकमा सोमबार समाचार प्रकाशित भएको थियो । समाचार तयार पार्ने क्रममा आइतबार नेपालगन्ज उप–महानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले तत्काल उक्त क्रियाकलाप रोक्न प्रकृया थाल्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शनिबार टेलिफोनमा भनेका थिए मलाई ‘टेक्स्टमा म्यासेज गरिदिनुस् । तुरुन्त हटाइदिन्छु ।’ उनले भनेअनुसार कालपृष्ठले म्यासेज समेत लेखेर पठाएको छ । यी दुई जिम्मेवार पदमा बसेका व्यक्तिले तुरुन्त भनेको तीन दिन बितिसकेको छ । तर, उनीहरुले यस विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापनसँग सोधपुछसमेत गरेका छैनन् ।
उक्त विद्यालय रहेको नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले सोमबार भने ‘हिजो सिडियो साबसँग विद्यालयको जग्गा खाली गराउने विषयमा भेटघाट भएको थियो । उहाँ यतै आउनुभएको थियो । तर, यस विषयमा केही पनि कुराकानी गर्नुभएन ।’
विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले अहिलेसम्म कुनैपनि निकाय वा व्यक्तिबाट यस विषयमा चासो व्यक्त नभएको बताए । आचार्यले समेत तुरुन्त बैठक बसाएर आवश्यक कारबाही अघि बढाउने बताएका थिए । उनी भन्छन्, ‘व्यवस्थापन समिति अध्यक्षसँग अनौपचारिक कुराकानी भएको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्टु वर्माले पनि अनौपचारिक कुराकानी बाहेक अन्य काम नभएको बताए ।
विद्यालयबाट एक सय मिटर टाढामात्रै मदिरा र सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्नुपर्ने मापदण्ड छ । तर, उक्त विद्यालयले आफ्नै सटरमा मदिरासमेत बेच्न दिइरहेको छ । यस्तो संवेदनशील विषयमा पनि जिम्मेवार निकाय र पदाधिकारीको उदासिनताले बाँकेमा विद्यालय क्षेत्रमा भइरहेको मदिराजन्य र सुर्तिजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण हुन नसक्नुको एउटा कारणको संकेत गरेको छ ।
आदर्श माविमा गेटसँगै जोडिएर बनाइएका सटरहरुमा भाडामा पसल सन्चालन गर्न दिइएको छ । ती सटरमा किरानादेखि लोकल मदिरा पाइने पसलहरुसमेत संचालनमा छन् ।
आदर्श माविमा मात्रै होइन नेपालगन्जका अधिकांश विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री भइरहेको छ ।
फोटो ः राँझास्थित आदर्श माविमा विद्यालयको गेट मै रहेको रक्सी पसल । फाइल तस्बिर