‘सिक्टालाई बहुआयामिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ’
Monday, April 12th, 2021, 12:13 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २९ चैत
सिक्टा सिँचाई आयोजनाबाट सबैभन्दा बढी लाभान्वित हुने क्षेत्र हालसम्म कृषिलाई मात्रै मानिँदै आएको छ । तर विज्ञहरु आयोजनाको पानीलाई बहुआयामिक क्षेत्रमा प्रयोग गर्न सकिने बताउँछन् । जुन विषयमा बाँकेमा खासै चर्चा हुने गरेको छैन ।
राप्ती नदीमा सिमित हुँदै बग्ने पानीलाई आयोजनाले बाँकेका गाउँ र शहरसम्म पुयाइदिएको छ । जसले पानीजस्तो वातावरण सन्तुलनको एक महत्वपूर्ण तत्वको फैलावट जिल्लाभरी हुनेछ ।
हाल बाँकेमा हिउँदको सिजन सुरु भएपछि हाते नलहरुमा पानी सुक्ने समस्या सुरु भइसकेको छ । त्यसको मुख्य कारण जमिनमूनि पानीको पर्याप्त पुनर्भरण नहुनु रहेको विज्ञहरु बताउँछन् । यदि सिक्टाको पानीलाई कृषि क्षेत्रमा प्रचुर रुपमा प्रयोग गरियो भने त्यसले जमिनमूनिको पानी पुनर्भरण गराउने र हाल देखिएको जमिनमूनिको पानीको सतह घट्ने समस्या कम हुन सक्छ ।
सिक्टा सिँचाई आयोजनाका निर्देशक लोक वहादुर थापा आयोजनाको पानी कृषिका लागि मात्रै हो भन्ने नसोच्न आग्रह गर्छन् । उनले आयोजनाको मुख्य उदेश्य सिंचाई नै भएपनि पानीलाई वातावरण संरक्षण, वृक्षारोप, नाला सरसफाई र उद्योग संचालन लगायतका क्षेत्रमा पनि प्रचुर मात्रामा प्रयोग गर्न सकिने सम्भावना रहेको बताए ।
जमिनमूनिको पानी सुक्दै गएको अवस्थामा अब जमिनमाथिको पानीको प्रयोगलाई पहिलो प्राथमिकता दिलनुपर्नेे आवश्यकता रहेको थापाले बताए । त्यसकारण जमिनमूनिको पानीको बढी दोहन हुने उद्योगले सिक्टाको पानी प्रयोग गर्न सक्ने उनको भनाई छ ।
तर जिल्लामा रहेका उद्योगहरु छरपष्ट रहेकाले उद्योगहरुलाई सिक्टाको पानी प्रयोग गर्न चुनौति रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
बाँकेको नौवस्तामा निर्माणाधिन अवस्थामा रहेको औद्यौगीक क्षेत्रमा उद्योग संचालनका लागी लाखौ लिटरको पानीको आवश्यक्ता पर्ने छ । त्यो पानी जमीनमूनीबाट नै निकाल्नुपर्ने अहिलेको बाध्यता हो ।
तर संभव भएका क्षेत्रमा सिक्टाको पानीलाई प्रयोग गर्न निर्देशक थापाको आग्रह छ । त्यसका लागी आवश्यक पानी दिन सकिने थापाले बताए ।
यसका साथै नेपालगन्जको सडक, नालासरसफाइमा पनि सिक्टाको पानीलाई प्रयोग गर्नेतिर सम्बन्धित निकायले सोच्नुपर्ने थापाले बताए । शहरमा वृक्षारोपण गरी हरीयालीकरण गर्न पनि सिक्टा सिँचाईको पानीकै प्रयाग गर्नु उपयुक्त हुने उनको भनाई छ ।
यस्तै, खानेपानीको लागी नेपालगन्ज उपमहानगर, कोहलपुर नगर, खजुरा र वैजनाथ गाँउपालीकामा जमिनमूनिको स्रोतमा आधारित खानेपानीका आयोजना निर्माणाधिन छन् ।जमीनको सतहमा पानी सुक्दै गएको अवस्थामा त्यस्ता आयोजनाको दिर्घकालिनताका लागि पनि पहिला जमिनमाथिकै पानीको प्रयोग गर्नेतिर ध्यान दिनुपर्ने थापाले बताए ।
विस. २०६३ सालदेखी निर्माण सुरु भएको सिक्टाको पश्चिमी नहरमा एकवर्षदेखी निरन्तर पानी सन्चालनमा छ । सधै कृषि क्षेत्रमा पानी नचाइने भएकाले यसको अन्य क्षेत्रमा उपयोग बढाउन सकिने सम्भावना देखीएकोे आयोजना निर्देशक थापाले बताए ।
कृषिमा बहुआयाकि सोच आवश्यक
सिक्टा सिंचाई आयोजनामार्फत बाँकेको ४३ हजार हेक्टरमा सिंचाई सुविधा पुयाउने लक्ष्य छ । हाल २७ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ पुगेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि क्षेत्रका लागी पानी अत्यावश्यक छ ।
गत वर्ष बाँके जिल्लामा करीब २५ प्रतिशतले धान उत्पादनमा वृद्धि भयो । अघिल्ला वर्षको जस्तो फौजि किराको प्रकोप यसवर्ष नदेखिनू, समयमै रोपाइ हुनू, किसानलाई अनुकुल समयमा सिँचाई सुविधा पुग्नु लगायतका कारणले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउछन् । बालिले समयमै सिंचाई पाएको खण्डमा २० देखी २५ प्रतिशत सम्म उत्पादन वढ्ने उनको भनाई छ ।
तर सधैंएउटै बाली धानको खेती गरेर यति ठूलो आयोजनाको पूर्ण लाभ लिन नसकिने विज्ञहरु बताउँछन् ।
नियमित सिंचाई र किसानले बाली लगाउने समयमै सिंचाईको सुविधा भएमा बाँके जिल्लामा ३÷४ वटा बालीसम्म उत्पादनको सम्भावना छ । विशेषगरी अन्नबालीमा धानका साधैगहुँ र हिउँदे मकैको उत्पादन बढाउनेतिर नीति निर्माता र किसानहरु तयार रहनुपर्ने विज्ञहरुको सुझाव छ । चैतेधान, मकै, गहुँ, मास लगायतका ३ वटा बाली एकैवर्षमा लगाउन सकिने उनीहरु बताउँछन् । बाह्र्रै महिना नहरमा पानी बग्दा जमिन पनि बाह्रै महिना कसरी हराभरा बनाउने भन्नेतिर सोच्नु आवश्यक रहेको उनीहरुको भनाई छ ।
मानिसले चाहेमा जस्तोसुकै माटो पनि सुधार गर्न सकिने वा त्यसको संभावना पहिचान गरेर उपयोग गर्न सकिने कृषि ज्ञान केन्द्र प्रमुख ढकाल बताउछन् । बलौटे माटोमा वदामखेति, मकैखेति र चिम्टाइलो माटोमा धान, गँहु खेतिको सम्भावना छ । एक अध्ययन अनुसार बाँके बर्दियामा अंगुर खेतिको सम्भावना पनि छ । यसका साथै विदेशबाट आयात हुने आँप, लिचि, केरा, अनार लगायतका फलफूल पनि खेत गर्न सकिने सम्भावना छ । चाउमीन, सुजि, मैदा उत्पादनका लागी लगाइने फरक जातको गहुँ पनि यस क्षेत्रमा फल्ने सम्भावना रहेको ढकाल बताउछन् ।