विधुत अनियमितले मारमा उद्योगी र सर्वसाधरण
Monday, April 19th, 2021, 12:15 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, ६ वैशाख
केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडलाई पछिल्ला केहीदिनयता भइरहेको विधुत अनियमितको समस्याले हैरान बनाएको छ । ‘१० मिनेटपछि बत्ती आउँछ । आएको पाँच मिनेट पनि टिक्दैन । किन यस्तो भइरहेको छ जानकारी पनि पाइएको छैन,’ छाजेडले टेलिफोनमा कुरा गरिरहेकै समयमा पनि दुईपल्ट विद्युत् आउनेजाने भइसकेको थियो । छाछेडले थपे, ‘भोल्टेज पनि तलमाथि भइरहेको छ । बिहानको समयमा लो भोल्टेज र साँझको समयमा हाई भोल्टेज आइरहेको छ ।’
विधुत अनियमित हुँदा उद्योगीहरुले लोडसेडिङ हुँदाको भन्दा बढी समस्या भोग्नु परिरहेको छाजेडले बताए । ‘उद्योगहरुका लागि क्वालिटी विद्युत् चाहिन्छ । यसरी समय–समयमा आउने जाने हुँदा सबभन्दा बढी उत्पादनको क्वालीटीमा असर पर्छ । त्यसपछि मेसिनमा खाराबी आउँछ,’ उनले आफ्नो उद्योगको उदाहरण दिँदै भने, ‘जस्तो हामीले प्याकेटमा तेल प्याकेजिङ गरिरहेको समयमै बत्ती गइदिन्छ । हेर्दा यो कुरा सानो देखिएपनि यदि कुनै प्याकेटमा त्यही कारणले परीमाण तलमाथि भयो वा केही खराबी आयो भने त्यही ठूलो इस्यु बन्छ ।’
दिनभर हुने विधुत अनियमितको समस्याले मेसिनहरु संचालन गर्नै नपाउने अवस्था रहेको छाछेडले बताए । ‘मेसिन पुनः सुरु गर्न हामीलाई कम्तिमा पनि आधा घण्टा समय लाग्छ । यहाँ त पाँच मिनेटपनि बत्ती टिक्दैन । यस्तोमा कसरी उत्पादन गर्न सकिन्छ ?’ उनले भने । 
नेपालगन्जका उपभोक्ताले विद्युत् २४ सै घण्टा पाएको भनिएपनि गूणस्तरीय सेवाबाट वन्चित रहेको छाजेडको भनाइ छ । छाडेडको जस्तै भनाइ नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसियट सदस्य एवं उद्योगी संजय अग्रवालको पनि छ । अग्रवालले पछिल्लो केही हप्तायता नेपालगन्जका उद्योगीहरु अनियमित विद्युत्को मारमा परेको बताए । ‘कोहीपनि उद्योगी र उपभोक्ता अनियमित विद्युत्को मारबाट मुक्त छैनन् । सबैले यसबाट ठूलो घाटा व्यहोरिरहेका छन्,’ अग्रवालले भने ।
उनले विद्युत् अनियमितको समस्याका विषयमा गुनासो गरिएपनि समाधान हुन नसकेको बताए ।
नेपालगन्जमा अनियमित विद्युत्को मार उद्योगीहरुले मात्रै खेपिरहेका छैनन् । केही हप्तायता विधुत अनियमित हुने समस्या बढेको छ । प्रायः मध्यान्हदेखि बेलुकीसम्मको समयमा विधुत् अनियमित हुने समस्या बढी हुने गर्दछ । विधुत् अनियमित हुँदा विद्युतीय उपकरणहरु बिग्रने समस्या पनि बढेको छ भने उपभोक्ताले हैरानी खेप्नु परिरहेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी विद्युत्को समस्या जारी रहे विद्युत् प्राधिकरणको नेपालगन्जस्थित कार्यालयमा डेलिगेसन जाने तयारीमा रहेको बताउँछन् ।
किन भइरहेको छ विधुत अनियमित ?
विधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले ओभरलोडका कारण विधुत् अनियमित भइरहेको बताएको छ । केन्द्रका प्रमुख लखन लला मलिकले कोहलपुरस्थित ३० एमभिए क्षमताको सर्किटमा ओभरलोड भएर हाल नेपालगन्जलगायत उक्त सर्किटबाट विधुत प्रशारण हुने क्षेत्रमा अनियमित हुने समस्या देखिएको बताए । मलिकले भने, ‘कोहलपुरमा ३० एमभिए र ६३ एमभिएका दुईवटा सर्किट छन् । त्यसमध्ये ३० एमभिएको सर्किटमा ओभरलोड भएर धान्न नसक्दा विद्युत् अनियमित हुने गरेको पाएका छौँ ।’
उनका अनुसार करिब १७–१८ एमभिए बढी लोड भएकोले ३० एमभिएको सर्किटले धान्न नसकेको हो । उक्त सर्किटबाट हाल नेपालगन्ज, गुलरिया र सुर्खेत तीन ठाउँमा विद्युत् वितरण भइरहेको छ । त्यतिमात्र नभएर कोहलपुरको लागि आठ एमभिएको ट्रान्सफर्मर पनि त्यही सर्किटमा जोडिएको छ । जबकी हाल नेपालगन्जमा मात्रै ३० एमभिए विद्युत्को माग रहेको मलिकले बताए । नेपालगन्जकै लागि त्यति ठूलो माग भइरहेको समयमा थप क्षेत्रको लोड धान्न नसक्दा सर्किट आफंै बन्द हुने गरेको मलिकको भनाइ छ ।
मलिकले सोमबार ३० एमभिए सर्किटको लोड घटाइने बताए । त्यसका लागि उक्त सर्किटबाट गुलरियाको सप्लाई निकालेर ६३ एमभिएको सर्किटमा सारिने उनले जानकारी दिए । लोड सार्ने कामका लागि सोमबार बिहान ६ बजेदेखि १२ बजेसम्म दुईवटै सर्किट ‘सटडाउन’ गरिने उनले बताए । त्यस अवधिमा भारतबाट आउने ११ एमभिएको विद्युत् कुनै–कुनै फिडरमा आउने बाहेक अरु क्षेत्रको विद्युत् सेवा बन्द हुने उनले बताएका छन् ।
गर्मी मौसम सुरु भएसँगै नेपालगन्जमा विद्युत् अनियमित हुने समस्या सुरु हुन्छ । पछिल्लो समय लोडसेडिङ र विद्युत् कटौतिको समस्या कम भएपनि अनियमित हुने समस्या सुरु भएको छ । मलिकका अनुसार सोमबार लोड सारिएपनि त्यसले स्थायी समाधान दिन सक्दैन । त्यसका लागि सर्किटको क्षमता नै बढाउनुपर्ने हुन्छ ।