भेरीलाई ५ लाख सहयोग
Sunday, May 9th, 2021, 2:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ वैशाख
एनआरएनए जापान र बाँके बर्दियामैत्री समाज जापानद्वारा भेरी अस्पताललाई पाँच लाख आर्थिक सहयोग गरिएको छ । सामाजिक दूरी कायम गरी आइतबार जिल्ला प्रशासन बाँकेमा औपचारीक कार्यक्रमको आयोजन गरेर उक्त रकम भेरी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन बाँकेका प्रमुख शिवराम गेलाल, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके बर्दियामैत्री समाज जापानका सल्लाहकार ओमप्रकास देवकोटालगायतले सयुक्तरुपमा रकम अस्पतालका मेसु डा. प्रकाश थापालाई प्रदान गरे ।

कोभिडको महामारीलाई मध्यनजर गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले सम्पूणर् राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको निम्ति गरेको अपिल अनुसार एनआरएनएले भरी अस्पताललाई पाँच लाख सहयोग गरेको महासंघ बाँकेका अध्यक्ष भण्डारीले जानकारी दिए । भण्डारीले उक्त रकममध्ये एक लाख २८ हजार एक सय ४२ रुपैयाँ बराबरको ३० थान सिपाप मास्क र सात थान बइन सिर्कुट गत वैशाख २२ गते अस्पताललाई हस्तान्तरण गरी सकेको बताए । साथै बाँकी तीन लाख ७१ हजार आठ सय ५८ रुपैयाँ र बाँके बर्दियामैत्री समाज जापानले गरेको एक लाख ७५ हजार रुपैयाँसहित पाँच लाख ४६ हजार आठ सय ५८ रुपैयाँ अस्पताललाई प्रदान गरिएको हो ।
कार्यक्रममा बाँके प्रमुख गेलालले हामी जुन क्षेत्रमा रहेका भएतापनि उक्त क्षेत्रबाट कोभिडका बिरामी घटाउन लाग्नुपर्ने बताए । उनले विषम परिस्थितिमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आइरहेकाले सबै रकमलाई पारदर्शी रुपमा खर्च गरिने बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले यसअघिपनि एनआरएनए र बाँके बर्दियामैत्री समाजले सहयोग गरेको स्मरण गर्दै धन्यवाद दिए ।
भेरीका मेसु डा.थापाले कोरोनाको डरलाग्दो परिस्थितिमा सबैको सहयोग आइरहेको र यस विषयमा सबै चिन्तित रहेको बताए । उनले अस्पतालमा दिनप्रति दिन बिरामीको संख्या बढ्दै गइरहेकाले अस्पतालले सक्दो कोसिस गरेको जानकारी गराए ।
बाँके बर्दियामैत्री समाजका साल्लाहकार देवकोटाले आर्थिक अभाव भएको अवस्थामा समाजले पटक पटक सहयोग गर्दै आएको जिकिर गरे ।