पुनको सम्झनामा बाटो नामाकरण
Thursday, June 3rd, 2021, 3:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० जेठ
युवा व्यावसायी तथा समाजसेवी भुपेन्द्र पुनको १३औं दिनको पुण्य तिथिको अवसरमा बाटोको नामाकरण गरिएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका पुनको सम्झनामा बाटोको नामाकरण गरिएको हो ।
पुण्य तिथिको अवसरमा पुनले स्थानीय क्षेत्रको विकासमा योगदान गर्दै युवाहरुलाई असल बाटोमा लाग्न गरेका प्रयासहरुका बारेमा चर्चा गरिएको स्थानीय व्यावसायी डम्बर रावतले बताए । पुण्य तिथिमा स्थानीय समाजसेवी, युवा तथा जन प्रतिनिधिले रावतले समाज परिवर्तनका लागि गरेको कार्यको प्रशंसा गरेका थिए । उनको सम्मानका लागि भुपेन्द्र मार्ग राखिएको रावतले बताए ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बाँके सम्झना बजार नजिकै करिब ३५ घर भएको पेउकाली टोलजाने उक्त सडकका लागि पुन परिवारले १ सय ५०मिटर भन्दा बढि जग्गा दान गरेका थियो । सोही बाटोमा स्थानीय युवाहरुको सक्रियतामा बाटोको स्तरउन्नती गर्ने कार्य समेत सुरु भएको छ ।
स्मृति सभामा नयाँ नामाकरण गरिएको भुपेन्द्र मार्गको स्तर उन्नति गर्न बैजनाथ गाउँपालिका वडा–६ अध्यक्ष भद्र बहादुर बस्नेतले बडाको बजेटबाट ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । बैजनाथ –६ नेपाली कांग्रेसका सभापति कमानसिह सुनारको अध्यक्षता भएको स्मृति सभामा कांग्रेस नेता देब बहादुर खत्री , देब बहादुर केसी , गगन खत्री ,डम्बर रावत मेघराज खड्का लगायतले स्वर्गीय पुनले गरेको योगदानको स्मरण गरेका थिए । यसैगरी नेपाल बिद्यार्थी संघ बाँके जिल्ला कार्यसमिति सदस्य समेत रहेका स्वर्गीय पुनको स्मृतिमा उनको परिवारले मानखोला घाटमा वर र पिपल रोपेको छ ।