एसियाको ‘पावरहाउस’ अष्ट्रेलियासँग खेल्दैं नेपाल
Thursday, June 10th, 2021, 7:34 pm
Kalpristha
कालपृष्ठ डेक्स
नेपालगन्ज, जेठ २७
फिफा विश्वकप–२०२२ र एसियन कप–२०२३ को दोस्रो चरणमा सबै भन्दा कठिन मानिएको प्रतिद्धन्द्धी अष्ट्रेलियासँग नेपालले शुक्रबार खेल्दैछ । जारी प्रतियोगिताको अहिलेसम्मको खेलमा अष्ट्रेलिया सबैभन्दा सफल टोली हो । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि पक्कै पनि सहज हुनेछैन । अंकतालिकामा अपराजित रहँदै १८ अंक सहित शिर्ष स्थानमा रहेको अष्ट्रेलिया भने शुक्रबार नेपाललाई हराएर विश्वकप तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । समुह चरणमा एउटा पनि खेल नहारेको अष्ट्रेलिया एक्लो टोली हो । नेपाल भने ६ अंक सहित चौंथो स्थानमा छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ सुरु हुनेछ ।
एसियाली फुटबलमा शंक्तिशाली अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई चुनौतिपुर्ण छ ।
तर, नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग उत्कृष्ट खेल खेल्ने बताउँछन।
अष्ट्रेलियासँगको खेल अघि प्रशिक्षक अलमुताईरीले भने,‘आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्काे राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं ।’
प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए । उनले भने, ‘सबै ठीकठाक छ भने उनीहरूले खेल्ने छन । म बुझ्छु, अष्ट्रेलियाविरुद्ध खेल्न सहज छैन । तर उनीहरुले खेल्नु महत्वपुर्ण छ ।’
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।