बाँकेमा निषेधाज्ञा थपसँगै केही खुकुलो
Monday, June 14th, 2021, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० जेठ
बाँकेमा जारी निषेधाज्ञा असार सात गतेसम्मका लागि थप गरिएको छ । तर, यसपटक व्यवसाय सन्चालन गर्न केही खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक आदेश जारी निषेधाज्ञा थप गरिएको जनाएका छन् ।
यसअघि पसल खोल्न पाउने अवधि बिहान ७ बजेदेखि १२ बजे सम्म रहेकोमा अब ७ देखि २ बजेसम्म खोल्न पाइनेछ । यसअघि दैनिक उपभोग्य वस्तुका पसल मात्रै खोल्न पाइने गरेकोमा अब अन्य पसलहरु पनि खोल्न पाइने छ । मास्कको प्रयोग र भौतिक दूरी लगायत जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गर्दै बीमा, बैंक तथा वित्तीय संस्थाबाट हुने सेवा, कृषि कार्य, उद्योग, कलकारखाना, दैनिक उपभोग्य वस्तु लगायतका पसल व्यवसाय खोल्न पाइने आदेशमा उल्लेख छ ।
यस्तै रेष्टुरेण्टबाट हुने प्याकिङ्ग तथा टेक अबे सेवा, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका सामाजिक कार्यहरुमा बढिमा १५ जनासम्म मात्र सहभागि हुने गरी गर्न दिइने भएकोछ । यसका साथै पेशा व्यवसाय, कार्यमा सम्बद्ध व्यक्तिहरुको परिचय पत्रका साथ सवारी साधन, अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन, अनुमति प्राप्त सवारी साधन र मालबहाक तथा ढुवानी साधन पनि सञ्चालन गर्न पाइनेछ ।
अझै नखुलेका सेवाहरुमा यात्रुबाहक सार्वजनिक यातायात, सबै किसिमका शैक्षिक संस्था, सबै किसिमका सभा र सम्मेलन, सिनेमा हल, पार्क, पार्टि प्यालेस, सैलुनलगायत छन् ।
बाँके जिल्लामा कोभिड- १९ संक्रमणको दर क्रमशः घट्दै गएपनि जोखिमको अवस्था अझैं कायम नै रहेकोले सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै एक हप्ताका लागि निषेधाज्ञा थपिएको प्रजिअ गेलालद्वारा जारी आदेशमा उल्लेख छ ।
