ब्याडमिन्टन हल निर्माणमा खजुराका युवाको सक्रियता
Tuesday, June 15th, 2021, 12:11 pm
Kalpristha
विक्रमबुढा क्षेत्री
खजुरा, १ असार
खजुरा, कृषि, उद्योगमा बाँकेको अग्रणी स्थानीय तह हो । जसले खजुराको तिव्र विकासमा साथ दिइरहेका छन । खजुराले कृषि, उद्योगमा मात्र होइन खेलकुदमा आफनो बलियो छबि बनाउँदैं, चाहे त्यो प्रतियोगिता होस या खेलसंरचना ।
खेलकुद ग्राम, भलिबल स्टेडियम जस्ता पुर्वाधार बनाइसकेको खजुरामा ब्याटमिन्टनको पनि आधुनिक सुविधा सम्पन्न पुर्वाधार बन्दैछ, र त्यसको नेतृत्व गर्दैछन खजुरा बजारका युवाहरुले । जुन अन्य थुप्रै युवाहरुका लागि प्रेरणादायी काम हो । उनीहरु अहिले अहिले खेल पूर्वाधार निर्माणमा एकजुट भएर अग्रसर भएर लागिपरेका छन् । खजुरालाई खेलकुदको हव बनाउन खजुराका युवाहरु लागि परेका हुन् । थुप्रै राष्ट्रियस्तरका खेलाडी उत्पादन गरिसकेको खजुरामा हाल सुविधासम्पन्न ब्याटमिन्टन कर्भडहल बन्ने क्रममा छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रियस्तरको ब्याडमिन्टन कर्भडहल बनाउने उद्देश्यका साथ अहिले खजुरमा करिब ९० लाख रुपैयाँको लागतमा ब्याडमिन्टन हाउसको निर्माणमा केही युवा लागि परेका छन् । उनीहरुको सक्रियता र योजनालाई साथदिइरहेका छन्, स्थानीय वासिन्दा र खजुरा गाउँपलिकाले । निर्माण गर्न लागिएको कर्भडहलले खजुरा क्षेत्रमा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ ।
खजुरा ब्याडमिन्टन क्लबका अध्यक्ष भक्तबहादुर गोदार सम्पूर्ण सुविधायुक्त ब्याडमिन्टन कर्भडहल निर्माणको परिकल्पना बोकेर ब्याडमिन्टन हाउस निर्माणमा लागिरहेको बताउँछन् । यस क्षेत्रका युवालाई खेलप्रति आकर्षण बढाउँदै राष्ट्रिस्तरको ब्याडमिन्टन प्रतियोगिता खजुरामा आयोजना गर्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको अवस्थामा युवा कुलतमा फसेर आफ्नो समय बर्बात गराइरहेका छन् । दिनप्रति दिन युवाहरुको लगाव खेलकुदमा भन्दा मोबाइनमा बढी केन्द्रित छ । युवालाई कसरी हुन्छ, खेलकुदप्रति आकर्षण गराउनु हाम्रो उद्देश्य हो ।‘ एकैपटक युवालाई खेलकुदप्रति आकर्षण गराउन नसकिए पनि बिस्तारै–बिस्तारै युवाहरुलाई खेलकुदमा ब्यस्त गराउन सकिनेमा गोदार विस्वस्त छन् ।
विगतका केही वर्ष अगाडिदेखि ब्याडमिन्टन खेल्दै आइरहेका गोदारलगायतका केही युवा ब्याडमिन्टन खेल्नका लागि भवन नभएकाले ब्याडमिन्टन कर्भडहल निर्माणको योजना तयार भएको अध्यक्ष गोदार बताए । उनले थपे, ‘खजुरमा ब्याडमिन्टन खेल्ने युवाको कमी छैन । हामीहरु विगतका केही वर्षदेखि निरन्तर ब्याडमिन्टन खेलिरहेका छौं । तर ब्याडमिन्टन खेल्नको लागि इन्डोर हुनुपर्ने हुँदा नेपालगन्ज खेन्ल जान धेरै टाडा पर्ने भएकाले खजुराको सेन्टर ठाउँ छानेर ब्याडमिन्टर हल निर्माणमा विधिगत रुपमा लागेका हौं ।’
निर्माण भइरहेको ब्याडमन्टिन कर्भडहलको कूल लम्बाइ १ सय २२ फिट र कूल चौडाइँ ७६ फिट रहने समितिका सचिव लक्ष्मण कार्कीले बताए । निर्माणाधीन हलभित्र ब्याडमिन्टन हल, शौचालय, चेन्जिङ कोठा, कार्यालयलगायत हुने कार्की बताउँछन् । कार्कीले भने, ‘यस हलमा ब्याडमिन्टन बाहेक कबड्डी, टिटिलगायतका प्रतियोगितासमेत गराउन मिल्छ ।’
खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन ब्याडमिन्टन कर्भडहलका लािग नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले ५ कट्ठा जमिन प्रदान गरेको क्लबका कोषाध्यक्ष अर्विन गोदार क्षेत्रीले बताए । साथै भवन निर्माणका लागि खजुरा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको र १५ लाख रुपैयाँ विनियोजन गर्ने क्षेत्रीले बताए । भवन निर्माणका लािग आजिवन सदस्यता बनाएर पनि रकम संकलन गर्ने क्षेत्रीले बताए ।
क्षेत्रीले भने, ‘अहिलेसम्म २५ जना आजिवन सदस्य भइसकेका छांै । २५ जनाबाट सदस्यताबापत १५ हजार एक सयका दरले रकम संकलन गर्ने व्यवस्था मिलाइएको छ ।’ बजेट व्यवस्थापनका लागि प्रदेश र केन्द्रलाई पनि जानकारी दिइएको क्षेत्रीले बताए ।
निर्माणाधीन ब्याडमिन्टन कर्भडहलको ३४ वटा पिलरमध्ये १८ वटा पिलर निर्माण भइसकेको छ । कोरोनाको महामारीका कारण हाल केही समयको लागि निर्माणको काम रोकिएपछि पुनः काम सुचारु गर्ने अध्यक्ष गोदारले बताए ।
खजुरा क्षेत्रलाई चिनाउनका लागि ब्याडमिन्टन खेल्ले महत्वपूर्ण भूमिका खेल्ने पूर्व राष्ट्रिय फुटबल खेलाडी एवम् कल्बका सदस्य सुरेशबहादुर थापा बताउँछन् । त्यसैगरी पूर्व राष्ट्रिय खेलाडी एवम् क्लबका सदस्य यामबहादुर गुरुङ ब्याटमिन्टन हाउस निर्माणले खजुरा क्षेत्रको परिचय बदल्ने बताउँछन् ।