बाढी र पहिरोले कहाँ कति क्षति ?
Wednesday, June 16th, 2021, 12:31 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २ असार
लगातारको वर्षापछि बाँके जिल्ला भएर बग्ने मानखोला र राप्ती नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । मानखोलामा पानीको सतह सतर्कता विन्दुमा पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम कार्यालय कोहलपुरले जनाएको छ । यस्तै, पश्चिम राप्ती नदीमा पनि जलसतह सतर्कताको विन्दु अर्थात ५ मिटर पार गरेको छ । राप्तीसोनारी गाउपालिकाको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ । बाँके जिल्लाका चुरेबाट बहने अन्य खोलानालाहरुमा पनि बहाव बदिरहेकोले खोलानाला छेउछाउ र होचा स्थानहरुमा आज साँझ सम्मै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसवर्ष असारको पहिलो दिनमै वर्षाका कारण देशका धेरै स्थानमा बाढी-पहिरो सृजना भएको छ । जसकारण भौतिक र मानवीय क्षति समेत भएको छ ।
बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पुर्याएको छ। बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन् भने गोरखामा एक जनालाई खोलाले बगाएको छ ।
यसैगरी, लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ । उता मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन् ।
लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध

पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि खुल्न सकेको छैन । निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताए । यस्तै सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूणर्रुपमा अवरुद्ध छ । यस्तै तानसेन-रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै रिडी-तम्घास र रिडी-वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका छन् । पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा-४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ-रामपुर सडक अवरुद्ध छ ।
यस्तै गोरुसिङ्गे-सन्धिखर्क सडकको फुदवाङ, प्युठान-भालुवाङ सडकको सरुमारानी-४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको छ । बुटवल-नेपालगन्ज राजमार्ग भने सुचारु रहेको छ । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
अविरल वर्षासँगै आएको पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरूद्ध भएको छ । केन्द्रका प्रमुख तामाङका अनुसार अहिले पर्वत-बाग्लुङ, बेशीसहर-मनाङ, बुटवल-तानसेन, गोरुसिंङे-सन्धिखर्क सडक खण्डमा पहिरो खसेको छ । त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे-मार्तडी सडकमा ठाउँ-ठाउँमा पहिरो खसेको छ । त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पनि पहिरोले बाटो रोकेको छ ।
केही दिन जोखम रहने
मौसमविद्हरूले अझै एक दुई दिन लुम्बिनी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेतता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा आज-भोलि धेरै भारी वर्षा हुने सम्भावना छ ।