महासंघले पत्रकारहरुको दुई लाखको वीमा गर्ने
Wednesday, June 16th, 2021, 10:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असार
नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पत्रकारहरुलाई दुई लाखको दुर्घटना वीमा गर्ने भएको छ । महासंघ शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निणर्य गरेको हो । पत्रकारहरु काममा खटिँदा सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उद्देश्यले सम्पुर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारका लागि समेत दुई लाखको दुर्घटना वीमा र (बीस हजार सम्मको उपचार खर्च सहित) गर्ने निणर्य गरेको अध्यक्ष भण्डारीले बताए ।
उक्त निणर्य चाँडै कार्यान्वयन गर्ने गरी प्रक्रिया थालिएको छ । यसबाट मोफसलमा रही सञ्चारक्षेत्रमा क्रियाशिल रहेका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना विरुद्धको खोप लगाउन समन्वय गर्ने सरोकारवाला निकायलाई हार्दिक आभार प्रकट गरिएको छ ।
कोरोना विरुद्धको अभियानमा फ्रन्टलाइनमा रही काम गर्ने धेरै पत्रकार अझैँ पनि खोप लगाउनबाट वन्चित भएकोले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न सम्बन्धित पक्षसँग जोडदार माग समेत गरिएको छ । साथै महासंघले लगातार आएको वर्षाका कारण बाढी, पहिरोको जोखिम बढेको भन्दै बाढीको उच्च जोखिममा रहेको बाँकेमा पूर्वतयारी गरी जनधनको रक्षा गर्न सरोकारवाला पक्षसंग अपील समेत गरेको छ ।