प्रधानमन्त्री नियुक्त गर्ने अधिकार सर्वोच्चलाई छैनः प्रधानमन्त्री
Thursday, June 17th, 2021, 2:10 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौ, ३ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार सर्वोच्च अदालतलाई नभएको जवाफ दिएका छन् ।
बिहीबार सर्वोच्चलाई जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अदालतलाई नभई संविधानले राष्ट्रपतिलाई मात्रै दिएको बताएका छन् ।
’अदालतले संविधान र कानुनको व्याख्या गर्ने हो, अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन । यो नितान्त राजनैतिक र कार्यपालिकी प्रक्रिया हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई दिएको छैन,’ प्रधानमन्त्रीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियक्त गर्न नसक्ने दाबी गरेका छन् । ’विपक्षी शेरबहादुर देउवाले मागदाबी पेस गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गर्नुभएको रहेछ । अदालतले संविधान र कानुनको व्याख्या गर्ने हो, अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन,’ उनले भनेका छन्, ’यो नितान्त राजनैतिक र कार्यपालिकी प्रक्रिया हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई दिएको छैन । ’
उनले धारा ७६ को उपधारा (५) बमोजिम नियुक्त नभएको कुनै व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने कुनै परिकल्पना नगरेको पनि बताएका छन् । ’ विसं २०१९ को संविधान वा २०६३ सालको संविधानमाजस्तो प्रधानमन्त्रीलाई निर्वाचन गर्ने व्यवस्था विद्यमान संविधानमा राखिएको छैन । यस्तोमा विपक्षीले रिट निवेदनमा उल्लेख गरेकोजस्तो संसदीय विशेषाधिकारको प्रश्न समेत प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन,’ उनले भनेका छन् ।