शुक्रबार नेपालगन्जमा ३ सय जनालाई कोभिसिल्ड खोपको दोस्रो ‘डोज’ लगाइदैं
Thursday, June 17th, 2021, 7:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असार
नेपालगन्ज उप-महानगरपालिकाले कोभिसिल्ड खोपको दोस्रो मात्रा दिने भएको छ । सबैभन्दा पहिलो चरणमा खोप लगाएका र दोस्रो मात्रा लगाउन नपाएका तीन सय जनालाई खोप लगाउन लागिएको हो । दोस्रो डोज लगाउन नपाएका व्यक्तिहरुका लागि भनेर तीन सय डोज खोप उप- महानगरपालिकामा पठाइएको स्वास्थ्य कार्यालय बाँँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार बाँकेमा पहिलो चरणमा कोभिसिल्डको एक मात्रा लगाई दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भनेर एक हजार डोज थप खोप आएको थियो । उक्त खोप सबै स्थानीय तहहरुलाई आवश्यकताका आधारमा बाँडिएको छ । उप-महानगरपालिकाले सोही तीन सय डोज खोप शुक्रबार लगाउन आउन सुचना जारी गरेको हो । बाँकेका अन्य स्थानीय तहले उक्त खोप कहिले लगाउने भन्ने निर्णय गरिनसकेका ओलीले बताए ।
उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दद्धारा जारी सुचनामा दोस्रो मात्रा लगाउने समय पुगेर पनि विविध कारणले छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई दोस्रो मात्रा दिन लागिएको उल्लेख छ ।
चन्दले तोकिएका बाहेक अरुलाई अहिले खोप नदिइने कालपृष्ठलाई बताए ।
नेपालगन्ज उप-महानगरपालिकामै कोभिसिल्डको दोस्रो चरणको खोप लगाउन बाँकी आठ हजार जनाभन्दा बढी रहेको चन्दले जानकारी दिए । बाँकी रहेकाहरुले सरकारले थप खोप पठाएपछि मात्रै लगाउन पाउँने उनले प्रष्ट्याए । अहिले आएको खोपले पहिलो चरणको अभियानका बेला एक मात्रा लगाएका र दोस्रो मात्रा लगाउन नपाएका सबैलाई पुग्ने अनुमान गरिएको चन्दको भनाइ छ ।
खोप नेपालगन्ज उप-महानगरपालिको कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म दिइने छ । खोप लगाउन आउँदा खोप कार्ड अनिवार्यरुपमा लिएर आउन अनुरोध गरिएको छ ।
