बाढीमा फसेका किसानको सेनाले गर्यो रूखमा स्ट्रेचर बाँधेर उद्धार
Friday, June 18th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ३ असार
सल्यानमा नदीमा आएको बाढीमा फसेका किसानलाई नेपाली सेनाले रूखमा स्ट्रेचर बाँधेर उद्धार गरेको छ । धान रोप्न गएका १२ किसान शारदा नदीको भंगालोमा फसेपछि उक्त जुक्ति लाएर सकुशल उद्धार गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।
एकापट्टि रूख र अर्कोपट्टि पोलमा डोरी बाँधेर बीचमा स्ट्रेचर राखी उद्धारको काम गरिएको थियो ।
शारदा नगरापालिका-६ करलाका स्थानीय किसानहरु बिहान दश बजे खेतमा धान रोप्न भनी नदीको भंगालो फाटेको ठाउँमा गएका थिए । त्यसको दुई घन्टापछि १२ बजेतिर बाढी आएपछि उनीहरू त्यहीँ फसेका थिए ।
उक्त जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरीसहित झन्डै ४५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएर उद्धार गरेको डिएसपी थापाले बताए ।
सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं, डिएसपी थापा, वडाध्यक्ष भीकराज बुढाथोकीलगायत सर्वसाधारणले उद्धारमा सघाएको डिएसपी थापाले जानकारी दिए ।
उनीहरुको उद्धारको लागि प्रमुख जिल्ला अधिकारीले हेलिकप्टर माग गरेपनि लगातार वर्षा र कुहिरोका कारण हेलिकप्टर आउन नसकेपछि सेनाले स्ट्रेचर बाँधेर उद्धार थालेको थियो ।
बिहान नदीको अवस्था सामान्य रहेको बेला भंगालो पर्ने खेतमा ३ घर परिवारका १२ जना धान रोप्न बिहान गएका थिए ।