शान्ति सेनामा नेपाल तेस्रो नम्बरमा
Friday, June 18th, 2021, 8:00 am
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ४ असार
शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । चौथोमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई पछि पार्दै स्थान सुधार गरेको हो ।
संयुक्त राष्ट्रसंघ (यूएन)को मिसनमा खटिने सुरक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंगलादेश पहिलो नम्बरमा छ भने अफ्रिकी मुलुक इथोपिया दोस्रोमा छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार नेपालको ५ हजार ६ सय ८६ सुरक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका यूएनबाट सुचना प्राप्त भएको छ ।
पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ सेना र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सेना शान्ति स्थापनार्थ खटाएका छन् ।
नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् । रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।
विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास भएको सैनिक प्रवक्ता पौडेलले बताए । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए ।
सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।
नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभरको रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थालेको थियो । त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।