४ दिनदेखि वेपत्ता गोठालाहरूको सकुशल उद्धार
Friday, June 18th, 2021, 12:38 pm
Kalpristha
कालपृष्ठ डेस्क
जाजरकोट, ४ असार
जाजरकोटको कुशे पाटनमा ४ दिनदेखि वेपत्ता भएका गोठालाहरूको सकुशल उद्धार गरिएको छ । हावाहुरीका कारण कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो ।
शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर उद्धार गरेको हो । कुशे-८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएका थिए । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको थापाले बताए । भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए । डीएसपी थापाका अनुसार हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया समेत मरेका छन् ।