खोपको आशामा ज्येष्ठ नागरिकहरु दिनभर उप-महानगरमा (भिडियो सहित)
Friday, June 18th, 2021, 7:01 pm Kalpristha
वीरेन्द्र जैसी नेपालगन्ज, ४ असार
कोही बेन्चमा बसेका त कोही भवनको बरण्डामा । कोही एक्लै त कोही परिवारका सदस्यको हात समातेर खोप पाइने आशामा भौतारिइरहेका । शुक्रबार नेपालगन्ज उप-महानगरपालिका परिसरमा ज्येष्ठ नागरिकहरुले दिनभर जोखिमपूर्ण र तनावपूर्ण दिन बिताउनुपर्यो ।
बिहीबार नेपालगन्ज उप-महानगरपालिकाले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन आउन सूचना जारी गर्यो ।
उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दद्धारा जारी सूचनामा दोस्रो मात्रा लगाउने समय पुगेर पनि विविध कारणले छुट भएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई दोस्रो मात्रा दिन लागिएको उल्लेख थियो । सूचनामा कति जनालाई खोप लगाइने हो? कति मात्रा खोप उपलब्ध छ ? भन्ने विषयमा जानकारी थिएन ।
उक्त सूचना थाहा पाएपछि फागुनमा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नेपालगन्जका ज्येष्ठ नागरिकहरु बिहान १० नबज्दै हातमा खोप कार्ड बोकेर उप-महानगरपालिकाको प्रांगणमा पुगे । उनीहरुले आशा गरेका थिए बढीमा तीन महिनाभित्र लगाइसक्नुपर्ने भनिएको खोपको दोस्रो मात्रा भाका नाघिसक्दा नसक्दै लगाउन पाइने भो । तर, उनीहरुको आशा निराशामा परीणत भयो । कोरोना जोखिम कायमै रहेका बेला दिनभर उनीहरु भिडमा बस्न बाध्य भए । साँझ थकित शरीर लिएर फर्किन बाध्य भए ।
बिहीबार कालपृष्ठसँग कुरा गर्दै स्वास्थ्य कार्यालय बाँँकेका कोरोना फोकल पर्सन तेज ओलीले दोस्रो डोज लगाउन नपाएका अग्र पंक्तिमा खटिएका व्यक्तीहरुका लागि भनेर तीन सय डोज खोप उप-महानगरपालिकामा पठाइएको जानकारी दिएका थिए ।
ओलीका अनुसार बाँकेमा पहिलो चरणमा कोभिसिल्डको एक मात्रा लगाई दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भनेर एक हजार डोज थप खोप आएको थियो । उक्त खोप सबै स्थानीय तहहरुलाई आवश्यकताका आधारमा बाँडिएको थियो । उप-महानगरपालिकाले सोही तीन सय डोज खोप शुक्रबार लगाउन आह्वान सूचना जारी गरेको थियो । तीन जनालाई पुग्ने खोप लगाउन पहिलो डोज लगाएका र दोस्रो डोज लगाइने सुचना पाएका सबैजसो नागरिकहरु नेपालगन्ज उप-महानगरपालिका परिसरमा पुगे । उप-महानगरपालिकाका कर्मचारीहरुलाई नागरिकहरुलाई सम्झाउन र खोप व्यवस्थापन हम्मेहम्मे पर्यो । अधिकांशले खोप कतिलाई पुग्ने हो? भन्ने थाहै पाएका थिएनन् । थाहा पाएका पनि पाइहालिन्छ कि भन्ने आशाले नगरपालिका पुगे ।