सञ्चार माध्यम ऐन फिर्ता गर्न माग
Friday, June 18th, 2021, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको विधेयक ‘सञ्चार माध्यम ऐन, २०७७ फिर्ता गर्न माग गरेको छ ।
प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता प्रतिकुल रहेको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबार लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा विधेयक संविधानको मर्म भावना र व्यवस्था विरुद्ध रहेको, प्रेस स्वतन्त्रताको आधारभूत मान्यता विरुद्ध रहेको, आम नागरिकको स्वतन्त्र सञ्चारको हक उपभोग गर्ने अधिकारलाई कुण्ठित गर्ने र पत्रकारिताको संरक्षण प्रवद्र्धन गर्ने भन्दा पनि नियन्त्रण केन्द्रित रहेको उल्लेख छ ।
उक्त विद्ययेकलाई तत्काल फिर्ता गरि सरोकारवालासंग संवाद तथा परामर्शको वातावरण बनाएर पुनःलेखनको माग गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले जानकारी दिए । अध्यक्ष गिरी र महासचिव विक्रम खड्काद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विधेयक लोकतन्त्र विरुद्ध रहेको भन्दै महासंघको अनुरोधलाई वेवास्ता गरे आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै सभामुख पूणर्बहादुर घर्तीले विधि प्रकृया र कानुनको परिधिभित्र रहेर महासंघका माग सम्बोधन गर्ने बताए । मन्त्री चेतनारायण आचार्यले पत्रकार महासंघले उठाएको मुद्धा सम्बोधनको लागि आफूले प्रयत्न गर्ने बताउँदै फिर्ता गर्नुपर्ने अडान भने छोड्न आग्रह गरे ।
विधेयकमा पत्रकारलाई जेल हाल्ने र कर्मचारीको स्वविवेकका आधारमा सञ्चारमाध्यम बन्द गर्न सक्नेसम्मको व्यवस्था छ ।