बाँकेको साहित्यका सन्दर्भमा २०७७ : आशालाग्दा कृति प्रकाशनको वर्ष
Saturday, June 19th, 2021, 2:41 pm
Kalpristha
विपि अस्तु
अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ विमोचन कार्यक्रममा साहित्यकार भोजराज शर्मा ‘नादिर’ले अमृतसँग गोपाल योन्जन र गुल्जारको स्तरका गीत लेख्न सक्ने क्षमता रहेको प्रतिक्रिया दिए ।
नेपालगन्जका साहित्यकारमा प्रायः बढी आलोचक भएर प्रतिक्रिया दिने व्यक्ति भनेर चिनिने नादिरले ‘लजालु पहाडहरु’को खुलेर प्रशंसा गरे । नेपालगन्जका अधिकांश साहित्यप्रेमी र पाठकहरु ढकालको गीतकृति एक स्तरीय कृति भएको प्रतिक्रिया दिन्छन् । उक्त गीतसंग्रहमा गीतकार आफैले लेखेको भूमिका पनि परिपुष्ट छ ।

…………………
साहित्यकार महानन्द ढकालले कथाकार डा.ईन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’को उपन्यास ‘देई’ पढिसकेपछि लेखे,
‘दुई दिनको होली ईन्द्रबहादुर भण्डारीकी देईका कुरा सुनेर बिते । देईलाई अझै केही प्रश्नहरु सोध्नु छ ः
बाका आमाहरु बासङ्ग किन टिकेनन् होला ?
माइत गएका आमाहरुलाई फर्केर लिन नजानु बाको कमजोरी होइन र ?
जुल्पेलाई भगाउने आँट कसरी आयो ?
जुल्पे खासमा किन भागेको होला ?
जुल्पे जिउँदो छ कि छैन देई ?
जुल्पेसङ्ग भेट भयो भने बोल्नु हुन्छ कि हँदैन ?
सरल र सरस भाषा शैली, कथाले मागे अनुसारको परिवेश, पाठकलाई डोर्याउन सक्ने कथानक उत्कृष्ट लाग्यो । बाँकेले राम्रो उपन्यासकार जन्माएको महसुस भएको छ ।’
हाल यहाँको साहित्यिक वृत्तमा ‘देई’को चर्चा र प्रशंसा हुन्छ ।

……………………
बाँकेमा गत वर्ष प्रकाशित कृतिहरुमा चर्चामा रहेको अर्को पुस्तक हो ‘लकडाउन’ । कोहलपुर निवासी लेखक सागर गैरेले लेखेको संस्मरणत्मक निबन्धको संग्रह हो ‘लकडाउन’ । ‘लकडाउन’मा कोरोना महामारीका कारण भोगेको एकान्तबासका संस्मरणहरु समेटिएका छन् । लकडाउनले पाठक पनि पाएको छ, पाठक प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।

……………….
‘अरे सज्ना ट मै गइनु रे
गइटि उज्जर गोन्या, कर्या चोल्या, फोंगाहा झोटीम
लाल झोबन्हा बहान्ख डौरल आइस रि !
गयर्वा बुडुले आफ्नो ऊ बेलाको समय र मनरख्नीलाई सम्झेर गाएको यो सजना अंश कथाकार शेखर दहितको बट्कोही/खिस्सा संग्रह ‘गयर्वा बुडु’ (२०७३) मा संकलित छ ।
प्रकाशकको लोगो, लेखको नाम, पुस्तकको आकार र पत्रपत्रिकाको फूल भोल्युम विज्ञापनले राम्रो कहेको पुस्तकका पछाडि मात्रै लाग्यो भने आफ्नो जीवन र अनुभूतिको सुगन्ध बोकेका ‘गयर्वा बुडु’जस्ता पुस्तकहरू यत्तिकै छुट्दा रहेछन् ।
आख्यानमा थारू समाजको वास्तविक चित्र समेटिएका कथाहरू थारू भाषामै, लयमै, सुगन्धमै यति मिठोगरी लेखिएको अर्को पुस्तक मैले आजसम्म अर्को पढेको छैनँ । हालसालै ‘गयर्वा बुडुक खिस्सा ठाँह्रा’ प्रकाशित गरेका कथाकार दहितको उन्मुक्त कथा लेखन शैलीले आफूलाई पढ्नबाट बन्चित हामीहरूलाई पूरै कथाभरि बाँधेर राख्छ । शेखरको शिखर कथा लेखनी, वाह !’
यो गीतकार एवं समालोचक अमृत ढकालले कथाकार शेखर दहितको थारु भाषाको कथाकृति ‘गयर्वा बुडुक खिस्सा ठाँह्रा’बारे दिएको प्रतिक्रिया हो । ‘गयर्वा बुडुक खिस्सा ठाँह्रा’मा दहितको लेखनीको पनि पछिल्लो समय चर्चा उकालो लाग्दो छ ।

………………………………………
२०७७ मा थारु भाषाकै लोककथाको संग्रह लिएर साहित्यकार किरण आचार्य पनि आइन् । ‘सँप रजुवा’ नाम दिइएको उक्त संग्रहमा थारु संस्कृतिका विभिन्न लोककथाहरुलाई लिपिबद्ध गरिएको छ । उनको उक्त पुस्तकले पनि फरक अर्थ राख्ने देखिन्छ । आचार्यले गत वर्ष ‘क्यान्टोनमेन्ट’ कथा संग्रह पनि लिएर आएकी छन् ।

…………………………
निबन्धमा आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार सृजन लम्सालको गत वर्ष लघुकथासंग्रह ‘मान्छे देखि सावधान’ पाठकको हातमा आयो । एकदमै संक्षिप्त आकारका कथाको उक्त संग्रहले पनि यहाँको साहित्यिक वृत्तमा चर्चा पाएको छ ।

साहित्यकार मणी अर्यालले ‘कुटी’ निबन्ध संग्रह लिएर आए । कुटीमाथि टिप्पणी गर्दै समालोचक महेश पौड्यालले शुक्ष्मयथार्थका ललित निबन्ध भनेका छन् ।

………………………….
साहित्यकार महानन्द ढकालको ‘सिमाना’ मुक्तक संग्रह पनि २०७७ सालमै पाठकका हातमा आइपुग्यो । गएका वर्षहरुमा पनि कृतिहरु प्रकाशन भएपनि तीनले खासै चर्चा पाउँदैन थे । गत वर्ष प्रकाशन भएका कृतिमध्ये केही कृतिहरुले आशा देखाउने काम गरेका छन् ।

कोरोना महामारी सृजित लकडाउनकाबिच पनि गत वर्ष बाँकेका साहित्यकारका कृतिहरुको प्रकाशन उल्लेख्य मात्रामा भयो । विधागत रुपमा केही नयाँ विधासहित सबै विधाका कृतिहरु प्रकाशन भए । करिब दुई दर्जन बढी साहित्यिक कृतिहरु गत वर्ष प्रकाशन भएका छन् ।
गत वर्ष बाँकेका साहित्यकारहरुले कविता, उपन्यास, कथा, संस्मरण, मुक्तक, गीत, हाइकु विधामा कलम चलाएको देखिन्छ । विधाको भिडमा एउटा नयाँ विधा साइनो पनि प्रकाशनमा आयो । छोटो आकारका कविताको एउटा नयाँ विधाको रुपमा विकास हुँदै गरेको साइनोका तीनवटा संग्रह बाँकेका साहित्यकारहरुले लिएर आए । जबकी देशभर साइनो विधाका हालसम्म पाँचवटा संग्रहमात्रै प्रकाशित रहेको बताइन्छ ।
पाँच वटा कथा संग्रह, तीनवटा उपन्यास, दुईवटा निबन्ध संग्रह, तीनवटा मुक्तक संग्रह, तीनवटा साइनो संग्रह, तीनवटा कविता संग्रह, दुईवटा हाइकु र एउटा आत्मसंस्मरण कृति प्रशकानमा आए ।
कथासंग्रहमा शेखर दहितको ‘गयर्वा बुडु ठाह्रा खिस्सा’, किरण आचार्यको ‘सँप रजुवा’ एवं ‘क्यान्टोनमेन्ट’, सृजना लम्सालको लघुकथा संग्रह ‘मान्छेदेखि सावधान’ र भरत बहादुर रानाभाटको ‘नियति’ प्रकाशित भए । उपन्यासमा इन्द्रबहादुर भण्डारी इन्दे्रणीको ‘देई’, पुरुषोत्तम अर्यालको ‘प्रारब्ध’ र कल्पना खरेलको ‘लभ इन जेरुसलेम’ प्रकाशनमा आए ।
यस्तै, कविता विधामा मिना बरालको ‘मनका छालहरु’, ईश्वरी प्रसाद रिजालको ‘बेसुल्लो’, हरिप्रसाद तिमिल्सेनाको ‘लिम्पियधुरा’ कविता संग्रह प्रकाशित भए भने मुक्तक विधामा महानन्द ढकालको ‘सिमाना’, निरन्जना चन्द निरुको ‘निरुपण’, कल्पना पौडेल जिज्ञासुको ‘विद्रोहका तरंग’ प्रकाशित भए । पौडेल केही समययता बाँकेवासी बनेकी हुन्
यसैगरी संस्मरणात्मक निबन्धमा सागर गैरेको ‘लकडाउन’, निबन्धमा मणी अर्याल ‘मणी रत्न’को ‘कुटी’ पनि बजारमा आयो । हाइकु विधाका संग्रहमा हरिचन्द्र ढकालको ‘चन्द्रबिन्दु’, हरि त्रिपाठीको ‘चटनी’ प्रकाशनमा आयो भने साइनो विधाका विष्णु पादुकाको साइनो संग्रह, छबिलाल खड्काको साइनो संग्रह ‘बिरौटो’ र निरन्जना चन्दको ‘निरुको साइनो’ संग्रह प्रकाशनमा आए ।
कानुन व्यवसायी लोकबहादुर शाहको आत्मकथा ‘चौकिदारदेखि वकिलसम्म’ पनि यसैवर्ष बजारमा आएको छ । गीत संग्रहमा अमृत शर्मा ढकालको ‘लजालु पहाडहरु’ पाठकका हातमा आइपुग्यो ।

समग्रमा प्रकाशनका दृष्टिकोणले बाँकेको साहित्यवृत्तमा सन्तोषजनक कृतिहरु आए । केही कृतिहरुले पाठक पनि पाए । विगतमा विमोचन कार्यक्रममा कृतिहरु बाँड्ने गरिन्थ्यो । ती पुस्तक पाउनेहरु घरमा लगेर पन्ना पल्टाउँथे कि पल्टाउँथेनन् थाहा हुन्थेन । गत वर्षदेखि त्यसरी पुस्तक बाँड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ ।
यसरी प्रकाशनका दृष्टिले वर्ष २०७७ उल्लेखनिय रह्यो । तर, अन्य साहित्यिक गतिविधि स्वाभावैले हुन पाएनन् । कोरोना महामारीका कारण साहित्यका ठूला जमघट हुन पाएनन् । अलि ठूलो जमघटका रुपमा भेरी साहित्य समाजले नेपालगन्जमा ‘राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक साँस्कृतिक महोत्सव-२०७७’ सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न महोत्सवमा विभिन्न विषयमा पाँचवटा कार्यपत्र प्रस्तुत भए ।
गोष्ठीमा ‘इस्लाम दर्शन र नेपालमा यसको परम्परा’, ‘शिक्षा प्रणालीमा अवधी भाषाः सन्दर्भ मातृभाषा शिक्षा’ र ‘लुम्बिनी प्रदेशका प्रमुख भाषा अवधी, थारु तथा मगर भाषाका अनुदित कृतिहरु र यी साहित्यमा अनुवादको दशा र दिशा’, ‘नेपाली बाल साहित्य ः सैद्धान्तिक स्वरुप र प्रयोग’ र ‘नेपाली कथामा आन्चलिकता’ विषयमा कार्यपत्र प्रस्तुत गरिए ।
कार्यपत्रमाथि देशका विभिन्न भू-भाग र लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका प्राज्ञिक व्यक्तिहरुले टिप्पणी एवं छलफल गरे । यसबाहेक अन्य कार्यक्रम हुन पाएनन् । साहित्यिक संस्थाका नियमित कार्यक्रमहरु भने सम्पन्न भए ।
अभिनय कलाको विकासमा लामो समय योगदान दिएका कलाकार वीरेन्द्र हमाल यसैवर्ष ‘थिएटर’ सिकाउने उदेश्यले नेपालगन्ज आए । यहाँ आएकै बेला उनले बाँकेमा रंगमन्चको टट्कारो आवश्यकता भएको बताए । मेयरलाई भेटेर रंगमन्चका लागि जग्गा छुट्याइदिन ज्ञापनपत्र बुझाए ।
कोहलपुरस्थित पुणर्ीयमा साहित्य प्रतिष्ठानले प्रतिष्ठानको कार्यालय बनाउनका लागि जग्गा पनि यसैवर्ष पायो । पूणर्ीमाले उक्त जग्गामा प्रतिष्ठानको कार्यालयसँगै थिएटरसमेत बनाउने योजना तय गरेको छ ।
बाँकेका साहित्यकारले कृति र गतिविधिको संख्या भन्दा गूणवत्तामा केन्द्रित हुनु त आवश्यक छ नै ।
(नोटः २०७८ साल वैशाख १ गते कालपृष्ठ दैनिकको २४ औँ वार्षिकोत्सव एवं नयाँ वर्ष २०७८ का अवसरमा प्रकाशित कालपृष्ठ दैनिक प्रिन्ट संस्करणको विशेष अंकबाट साभार)