दाङमा सहकारीमार्फत जडिबुटी खेती विस्तार कार्यक्रम सुरु
Saturday, June 19th, 2021, 6:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ५ असार
डिभिजन वन कार्यालय दाङले जडिबुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निःशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति बिरुवा ३ रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम अघि बढाएको छ ।
दाङ सुगन्धकोकिला(मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धा लगाएतका जडिबुटीको व्यावसायिक खेतीको प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले जडिबुटीका खेती गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्नका लागि यस वर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । सहकारीमार्फत जडिबुटी बिस्तार कार्यक्रमबाट यो वर्ष करिब ७५ हजार जडिबुटिका बिरुवा रोप्ने गरी कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालयय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार जडिबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका ५ वटा वडाहरु र घोराही उपमहानगरपालिकाका २ वटा गरी जम्मा ७ वटा वडामा जडिबुटी खेती बिस्तार कार्यक्रम शुरु गरिएको छ । यो कार्यक्रम अन्र्तगत किसानहरुलाई टिमुर, तेजपात र मालागेडी जातका बिरुवाहरु निःशुल्क उपलब्ध गराइने छ ।