राप्रपामा तरंगः धवललाई राखिएन विशेष समितिमा
Saturday, June 19th, 2021, 6:31 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ५ असार
पार्टीको विशेष समितिमा आफूलाई नराखिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता धवल शमशेर राणा आक्रोशित बनेका छन् । विशेष समितिमा आफू स्वतः पर्ने भए पनि पूर्वाग्रह साँधिएको उनको गुनासो छ ।
राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको थियो । केन्द्रीय निर्देशन समिति ५५ सदस्यीय र विशेष समिति २५ सदस्यीय छ । पार्टीको विधान तथा एकीकरणसम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले समितिहरु गठन गरेको भनिए पनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई नसमेटिकन कमिटीलाई पूणर्ता दिइएको छ ।
पार्टीका उपाध्यक्ष र दुई पटक महामन्त्री भइसकेका नेता राणालाई समेटिएको छैन । राणालाई निर्देशन समितिमा राखिए पनि विशेष समितिमा राखिएको छैन । उनीबाहेक प्रह्लाद शाह, दुर्गा श्रेष्ठ, केदार कोइराला, श्याम शाही, रामकुमार सुब्बा, दीलनाथ गिरी लगायतलाई पनि विशेष समितिमा राखिएको छैन । नेताहरुको दावी अनुसार उनीहरुले नेतृत्व हस्तान्तरणको विषयमा लबिङ गरेकै कारण ‘साइज’ मा राख्ने अभिप्रायले राणालाई नसमेटिएको हो ।
राणाले नेतृत्व हस्तान्तरणको विषयमा बोल्दा अपमान गर्ने काम हुनु विडम्बना भएको बताएका छन् । उनले आफूलगायत धेरै नेताहरु अपमानित भएको बताउँदै सबैलाई संयमित रहनसमेत अनुरोध गरे ।
पछिल्लो समय राप्रपाभित्र अन्तरविरोध तीव्र बनेको छ । यही अन्तरविरोधका बीच धवल समशेर राणाले अब कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई अघि बढाउनुपर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले आगामी महाधिवेशनबाट आफूलाई अध्यक्षका रुपमा अगाडि सारेका छन् ।
राप्रपाका अर्का नेता दीलनाथ गिरीले पनि पार्टीमा दोस्रो पुस्तालाई नेतृत्वमा अघि सार्ने एजेण्डा बोकेका नेताहरुलाई छानीछानी कमिटीमा नराखिएको भन्दै आक्रोश पोखेका छन् ।
यता राप्रपा अध्यक्ष कमल थापाले अब पछाडि फर्केर नहेर्ने भन्दै बरु एक्लै हिँड्ने तर नकारात्मक सोच भएकाहरुसँग टाढै बस्ने टिप्पणी ट्वीटरमा गरेका छन् ।
