नरैनापुरको दशौं गाउँसभा
Sunday, June 20th, 2021, 7:45 pm
Kalpristha
प्राथमिकतामा कृषि र शिक्षा
कालपृष्ठ समाचारदाता
नरैनापुर, ६ जेठ
कृषि र शिक्षालाई प्राथमिकता दिदैं नरैनापुर गाउँपालिकाले दशौं गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८-८९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आइतबार गाउँसभामा पेस गरेको निति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
नमुना कार्यक्रमका रुपमा गाउँपालिकाले ‘स्वदेशमै श्रम, स्वदेशमै पशिना’ को निति अनुरुप कृषक पेन्सन कार्यक्रम ल्याउने तयारी गरेको छ । जसमा कृषक मापदण्ड निर्माण गरी ५ सय कृषकलाई मासिक ५ सयका दरले पेन्सन उपलब्ध गराउने अध्यक्ष शाहले घोषणा गरे । यसैगरी कृषकको मनोबल, आत्मविश्वास र प्रोत्सानका लागि कृषि सुलध कर्जा उपलब्ध गराउने समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी ‘म किशान नरैनापुरको सान’ भन्ने नारा सहित उत्कृष्ट कृषक, उद्यमी, कृषक समुह तथा सहकारीलाई सम्मान गरिने छ ।
व्यावसायिक कृषि खेती गर्ने युवाहरुलाई प्रोत्साहन गर्दै १ सय नमुना व्यावसायिक कृषक उत्पादन गरिने कार्यक्रममा रहेको छ । शिक्षा निति अनुरुप गाउँपालिकाबाट उच्च शिक्षा हासिल गर्न जाने विपन्न परिवारका महिलाहरुलाई अध्ययनमा सहयोग गर्नका लागि छोरी बुहारी छात्रवृद्धि कार्यक्रम संचालन गरिने कार्यक्रममा उल्लेख छ । पालिकाबाट डाक्टर, इन्जिनियर तथा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई निशुल्क अध्यापनको व्यवस्था मिलाउनुका साथै पढाईमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले व्यहोर्ने अध्यक्ष शाहले बताए ।
‘खोजी खोजी बनाउँ साक्षर’ कार्यक्रम अन्तर्गत उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई गाउँपालिकाबाट प्रभाव गरिने सेवाबाट बञ्चित गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभिभावक, विद्यालय र शिक्षकलाई प्रोत्सान भर्ता प्रदान गरिने बताइएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले निति तथा कार्यक्रममा स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर ४ स्थित जयरामपुर्वामा १५ शैयाको अस्पताल निर्माण गरिने बताए ।
बस्नेतले गाउँपालिकाको पहिचानलाई बढाउनका लागि पर्यटन प्रर्वधनका लागि ‘बरफानी बाबा सुन्दर ठाउँ नरैनापुर घुम्न जाऔं’ भन्ने अभियान संचालन गरेर आन्तरिक पर्यटनको विकास गरिने निति तथा कार्यक्रममा समावेश गरिएको बस्नेतले बताए ।