ट्रम्पद्वारा आफ्नो विरोध गर्ने महान्यायाधीवक्ता बर्खास्त
Tuesday, January 31st, 2017, 9:17 am
amit
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गर्नुभएको छ ।
अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिनुभएको थियो । अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताउनुभएको हो । त्यसलगतै राष्ट्रपति ट्रम्पले उहाँलाई बर्खास्त गर्नुभएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उहाँलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ ।
उहाँको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पको निर्देशन कानुनसम्वत रहेकोमा आफू सहमत हुन नसकेको यट्सले वक्तव्यमा उल्लेख गर्नुभएको थियो । यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले सिनेटर जेफ सेसन्सलाई न्याय विभागको प्रमुखका लागि छान्नु भएको छ । सिनेटले यसबारे बिहीबार मतदान गर्नेछ । यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनको बचाउ गर्ने क्रम छोड्नुभएको छैन ।
राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको आरोप लगाउनुभएको छ ।