लक्ष्मणपुर बाँधको निरीक्षण गर्दै सांसद र सिडिओ
Sunday, June 20th, 2021, 8:02 pm
Kalpristha
खम्ब पुन
बाँके, ६ असार
लक्ष्मणपुर बाँधको आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक टोलीले निरीक्षण गरेर फर्किएको छ । लक्ष्मणपुर बाँधलाई बाँके जिल्लामा डुवानको प्रमुख कारणको रुपमा लिने गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँकेका संघीय सांसद महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी, बाँकेका सुरक्षा निकाय नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाका प्रमुख र सहितको संयुक्त टोलिले लक्ष्मणपुर बाँधको वर्तमान अवस्था बारे बुझन लक्ष्मणपुर बाँध पुगेका थिए ।
भारतले नेपाल भारत सिमाक्षेत्र राप्ती नदीको लक्ष्मणपुरमा एकपक्षीय रुपमा बाँध बनाएका कारण नरैनापुर, डुडुवा, राप्तीसोनारी गाउँपालिका लगायत बाँकेका धेरै क्षेत्रले डुवान र बाढीको समस्या झेल्दै आएका छन् ।
यस बर्ष समयमै बर्षात भएकाले लक्ष्मणपुर बाँधकै कारण हुन सक्ने डुवानलाई मध्यनजर गर्दै नरैनापुर गाउँपालिकाको राप्तीनदीको तटीय क्षेत्र र लक्ष्मणपुर बाँधको अवलोकन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बताए । उनले बाँधको अवलोकन संगै नेपाल भारत सिमा क्षेत्रमा पर्ने सिमा स्तम्भको समेत अवलोकन गरेको बताए ।
संयुक्त अनुगमन टोलिले लक्ष्मणपुर बाँध सम्म पुग्ने सडकनिर्माण, सिमा स्तम्भको अध्यावधिक र बाँधले पु¥याउन सक्ने क्षतिलाई मध्येनजर गर्दै राज्यपक्षबाट दुबै देश बीचको समन्वयमा समस्या समाधानको उपाय खोजिनुपर्ने ठहर गरेको छ ।