डाक्टर र नर्समाथि आक्रमण गर्नेहरू धरौटीमा छुटे
Sunday, June 20th, 2021, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असार
गत जेठ १३ गते बेलुकी भेरी अस्पताल नेपालगन्जका डाक्टर र स्टाफ नर्समाथि आक्रमण गर्ने तीनजना धरौटीमा छुटेका छन् ।
प्रहरी हिरासतमा रहेका दाङको मानबहादुर रावत, भरत रावत र लोकराज रावत आईतबार ५० हजार धरौटीमा छुटेका हुन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले चिकित्सक र स्टाफनर्समाथि आक्रमण गर्ने तीनैजना जनही ५०÷५० हजार धरौटी छोड्न आदेश दिएको हो ।
तुलसीपुर उप–महानगरपालिकाका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै अस्पतालमा सेवारत चिकित्सक र स्टाफ नर्सहरूमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।
घटनापछि तीनजनाविरुद्ध किटानी जाहेरी दिइएको थियो । साथै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको थियो । उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएकोले दोषीलाई कारबाही गरिनुपर्ने सुझाव दिएको थियो ।