नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला
Monday, June 21st, 2021, 6:13 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ७ असार
नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । भारतको नयाँ दिल्लीमा अनुवांशिक परीक्षण गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७ एन म्युटेसन देखिएको बताए । यसलाई एवाई.१ नाम दिइएको छ ।
उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।
नेपालमा अहिलेसम्म अल्फा बी.१.१.७ र डेल्टा बी १.६१७.२ तथा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जानकारी दिए । उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए ।