प्रविधिको दुरुपयोग बढेकोमा सरोकारवालाको चिन्ता
Saturday, June 19th, 2021, 5:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
इन्टरनेट र प्रविधिको दुरुपयोग बढेको भन्दै बाँकेका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना माहामारीमा प्रविधिको प्रयोग बढेकोले यसको दुरुपयोग पनि बढेको उनीहरुको भनाई छ । विद्यालयहरुले अनलाईन कक्षा सन्चालन गरीरहेको अवस्थामा बालबालिकाहरुलाई प्रविधिको प्रयोग गर्न दिनुपर्ने वाध्यता अभिभावकलाई छ । बालबालिकाले पढाई भन्दा इन्टरनेटमा भेटिएका अन्य सामाग्रीमा बढी समय बिताउन थालेको भन्दै प्रविधिको दुरुपयोग रोक्न समयमै ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षाका लागि नागरीक सन्जाल (एनसिइ) बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित ‘विद्यालयमा बालअधिकार’ विषयक अन्र्तक्रियाका सहभागीहरुले अधिकार लिने तर कर्तव्य पालना नगर्ने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
यस्तै, कोरोनाका कारण परीक्षा हुन नसक्दा विद्यार्थीहरुलाई माथिल्लो कक्षा चढाइएकोले यसले विद्यार्थीहरुलाई थप अल्छि बनाएको उनीहरुको भनाई छ । सरकारले लागु गरेको गे्रडिङ सिस्टमले समेत विद्यार्थीलाई अल्छि बनाएको उनीहरुले टिप्पणी गरे ।
यस्ता कारणले पनि सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएको उनीहरुको भनाई छ । शैक्षिक क्षेत्रमा लगानी अनुसारको प्रतिफल पाउनका लागी शिक्षक, विद्यार्थी र अभिभावक विचको समन्वय जरुरी रहेको उनीहरुले बताए ।
पछिल्लो समय बालबालिकाहरु कुलतमा फस्दै गइरहेको भन्दै सन्जालका सचिव भद्र देवकोटाले यसका लागी घरपरीवार देखी राज्यले समेत ध्यान दिनुपर्ने बताए । शिक्षक, विद्यार्थीले कर्तव्यको पालना गर्न सके र सरकारले व्यवसायीक, व्यवहारीक र नैतिक शिक्षाको कार्यान्वयन गराउन सकेको खण्डमा शिक्षा क्षेत्रका धेरै समस्या हल हुने अन्र्तक्रियाको निश्कर्ष छ । एनसिइ नेपाल काठमान्डौंको सहयोगमा कार्यक्रमको आयोजना गरिएको सन्जालका अध्यक्ष तारा खनालले जानकारी दिए ।
कार्यक्रममा सन्जालका उपाध्यक्ष जयन्ती गिरी, कृष्णमुरारी प्रसाद भट्ट, सुनिता विष्ट, सिता खड्का लगायतको उपस्थिति थियो ।