कृषकलाई २ करोडको कृषि सामाग्री
Tuesday, June 22nd, 2021, 7:19 pm
Kalpristha

कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
राप्तीसोनारी गाउँपालिकाले गाउँपालिकाका किसानहरुलाई दुई करोड रुपैयाँ भन्दा बढीको कृषि सामाग्री प्रदान गरेको छ ।
गाउँपालिकाले खाद्यान्न तथा तरकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानहरुलाई दुई लाख ११ हजार सात सय ५० रुपैयाँ मूल्यको विभिन्न कृषि औजार प्रदान गरेको हो । उक्त रकममा अनुदान किसानहरुले ५० प्रतिशत रकम ब्यहोर्ने छन् ।
मंगलबार राप्तीसोनारी गाउँपालिका-६ मा साकार कृषि सहकारी संस्था लिमिटेडले अन्तिम सार्वजनिक सुनुवाइ तथा सामग्री वितरण कार्यक्रमको आयोजना गरेर किसानहरुलाई कृषि सामाग्री प्रदान गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, वडा नम्बर ८ का अध्यक्ष खुुमबहादुर बस्नेतलगायतले किसनहरुलाई कृषि सामाग्री हस्तान्तरण गरे ।

पालिकाको खाद्यान्न तथा तरकारी प्रवद्र्धन कार्यक्रम समन्वय समितिमार्फत कृृषि सामाग्री सहयोग गरिएको हो । सहयोग गरिएको सामाग्रीमा आठ लाख ८० हजार रुपैयाँको २२ थान पम्पसेट, १५ लाख १२ हजार रुपैयाँको ३६ थान बोरिङ, एक लाख ५० हजार रुपैयाँको पाँच सय केजी डेलिभेरी पाइप, आठ लाख २५ हजार रुपैयाँको ३३ थान मोटर र १९ लाख ८० हजार रुपैयाँको ६ वटा थ्रेसर धान रहेको छ ।
त्यसैगरी दुई लाख २५ हजार रुपैयाँको ३० लिटर झारनासक विषादी, चार लाख ७५ हजार रुपैयाँको १० हजार केजी डिएपि, दुई लाख ७७ हजार पाँच सय रुपैयाँको एक हजार पाँच सय केजी युरिया, एक लाख ८७ हजार पाँच सय रुपैयाँको पाँच हजार केजी पोटास, ६ लाख ३८ हजार रुपैयाँको पाँच हजार आठ सय केजी जिक्ङलगायत विभिन्न खाद्यान्न तथा घाँसका एक सय चार क्वीन्टलभन्दा बढी उन्नत, प्रमाणित र मूल बीउविजन पनि प्रदान गरिएको छ ।
कार्यक्रममा अध्यक्ष थारुले गाउँपालिकाको किसानलाई सहज बनाउने योजना रहेको बताए । उनले कृषकलाई पेसा सबैभन्दा उच्च पेसा भएको बताउँदै, कृषि पेसालाई अपमान नगर्न आग्रह गरे । थारुले कृषकहरुलाई अनुदानलाई अनुदान नसम्झेर आफ्नो सम्पत्ति सम्झेर कृषि उत्पादनमा वृद्धि गराउन अनुरोध गरे ।
कार्यक्रममा उपाध्यक्ष खत्रीले किसानको हीतमा सदैव गाउँपालिका लागि परेको बताइन् । उनले किसानहरुले उत्पादनमा वृद्धि गर्दै जाने हो भने किसानका हरेक समस्यालाई गाउँपालिकाले आत्मसाथ गर्ने बताइन् ।