असार ४ गतेयता बाँकेमा कोरोनाबाट मृत्यु शून्य
Tuesday, June 22nd, 2021, 9:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्यु शून्यमा झरेको छ । असार ४ गतेयता बाँकेमा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन । दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या पनि न्यून रहेको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४ असारमा एक, ५ असारमा १०, ६ असारमा १, ७ असारमा १४ र ८ असारमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
बाँकेमा सक्रिय संक्रमितको संख्या पनि घटेको छ । मंगलबारसम्म बाँकेमा ७५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार भेरी अस्पतालमा ३७ जना संक्रमित उपचाररत छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको उनले बताए । यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा ५ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ । वेस्टर्न अस्पतालमा एकजना मात्रै संक्रमित उपचाररत छन् भने युनाइटेड अस्पतालमा एकजना पनि संक्रमित छैनन् । कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमित संख्या घटेसँगै अस्पतालका कोभिड बेड पनि खाली हुन थालेका छन् ।
बाँकेको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेस्टर्न अस्पताल र युनाइटेड अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आइरहेको थियो । यी चारवटै अस्पतालमा कोभिड-१९ बिरामीका लागि ३६१ बेड छुट्याइएको थियो । जसमध्ये मंगलबार दिउँसो ३ः२० बजेसम्म ३१७ बेड खाली रहेको फोकल पर्सन ओलीले बताए । कोरोना संक्रमण उत्कर्षमा पुग्दा भेरी अस्पतालले अस्पतालको प्राङ्गणमा टेन्टमा राखेर संक्रमितको उपचार गराउनुपर्ने अवस्था आएको थियो ।