सडकमा खजुराको प्रगतिः ४ वर्षमा ४० किलोमिटर सडक कालोपत्रे
Tuesday, June 22nd, 2021, 9:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ७ असार
बाँकेको खजुरा गाउँपालिकामा चार वर्षको अवधिमा ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । गाउँपालिकाका अधिकांश मुख्य भित्री सडकहहरु कालोपत्रे भइसकेका छन् । करिब आधा दर्जन गाउँको बाटो पिच भइसकेको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकामा चार वर्षमा करिब एक सय ५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।
गाउँपालिकाले पूर्वाधार निर्माणमा पर्याप्त बजेट लगानी गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनका अनुसार गाउँपालिका, प्रदेश र संघ सरकारको पर्याप्त बजेट सडक पूर्वाधारमा विनियोजन गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ सालमा चार करोड रुपैयाँ सडक कालोपत्रेका लागि विनियोजन गरेको थियो भने सडक पूर्वाधार सुधारका लागि २०७६–७७ मा ३० लाख र २०७७–७८ मा ८० लाख ४० हजार रुपैयाँ विनियोजन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५–७६ मा एक करोड १५ लाख रुपैयाँ कालोपत्रेका लागि विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७४–७५ मा ९१ लाख रुपैयाँ कालोपत्रेका लागि विनियोजन गरिएको बजेट भाषणका दस्ताबेजहरुमा भेटिन्छ । २०७४–७५ र २०७५–७६ मा कालोपत्रेको तुलनामा ग्राभेल र सडक स्तरोन्नतीका लागि बढी बजेट विनियोजन गरिएको देखिन्छ ।
गाउँपालिकामा चालू आर्थिक वर्षमा मात्रै २० किलोमिटर सडक कालापत्रे गरिएको गाउँपालिकाको योजना शाखाले जनाएको छ । योजना शाखाका अधिकृत दिलबहादुर पौडेलका अनुसार यस वर्ष वडा नम्बर १, २, ३ र ८ मा तीन किलोमिटर, वडा नम्बर ५ र ७ मा साढे दुई किलोमिटर, वडा नम्बर ४ मा दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ । गत वर्षका केही योजनाहरु पनि यस वर्ष आएर सम्पन्न भएका पौडेलले बताए । सडक कालोपत्रै सँगै यसवर्ष ३० किलोमिटर सडकको स्तरोन्नती पनि गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार गाउँपालिकाले हरेक वर्ष औसतमा ४० किलोमिटर बढी सडक ग्राभेल गरिरहेको छ । ‘यस आधारमा करिब डेढ सय किलोमिटर सडक ग्राभेल भयोे,’ पौडेलले भने ।
गाउँपालिकाका वीरपुर, चन्द्रपुर, बहादुरपुर, के गाउँ र बी गाउँका मुख्य सडकहरु पिच भइसकेका छन् । ए गाउँको केही भाग सडक पिच हुन बाँकी छ । यसवर्ष जलपोखरीदेखि तिर्था प्रावि जाने बाटो, मैटहवा स्कुलदेखि छोटीलाइन हुँदै बोर्डरसम्म, नेउलीडाडा गंगा सुनारको घरदेखि मानखोला जाने बाटो, खेलकुद ग्रामदेखि मौरीनगर चोकसम्म कालोपत्रे गरिएको छ ।
यसैगरी, वीपी प्रतिक्षलयदेखि उढरा हुँदै बाबास्थान जाने बाटो, नुरी मस्जिददेखि करस्थान जाने बाटो, हाइवेदेखि रजनागाउँ जाने बाटो, वीपी प्रतिक्षलयदेखि कलसन गाउँ जाने बाटो, हाइवेदेखि गोदनाचोक हुँदै सोनवर्षा जानेबाटो, सुनौलोटोलदेखि त्रान्तिपुर घिया जाने बटो पनि पिच भएको छ ।
यस्तै, सी गाउँको ८४ नम्बर प्लटदेखि ९१ नम्बर प्लटसम्म, एलगाउँको एक नम्बरदेखि १५ नम्बर प्लटसम्म, एगाउँमा १० नम्बरदेखि २५ नम्बर प्लटसम्म, बी गाउँमा २१ देखि ४४ नम्बरसम्म र ९० नम्बर प्लटदेखि १०५ नम्बर प्लटसम्म पिच भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, समपुरक अनुदानबाट इ गाउँदेखि ए गाउँ जाने बाटोको डेढ किलोमिटर कालोपत्रे हुँदैछ ।
गाउँपालिका अध्यक्ष कक्षपति प्रत्येक वर्ष गाउँपालिकामा १६ किलोमिटर बाटो पिच गर्ने योजनालाई गौरवको योजनामा राखिएको बताउँछन् । ‘गाउँपालिकाका साथै प्रदेश र संघबाट पनि प्रशस्त बजेट सडक पूर्वाधारमा परेको छ । यसले हाम्रो योजनालाई थप मद्धत पुगेको छ,’ कक्षपतिले भने । आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता अनुसार थप सडक पनि कालोपत्रे गरिने उनले जानकारी दिए ।