कोरोनाको तेस्रो लहर रोकथामका लागि तयारी गर्न आदेशको माग गर्दै नेपालगन्ज इजलासमा रिट दायर
Wednesday, June 23rd, 2021, 4:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असार
कोरोना रोकथाम, नियन्त्रण र गुणस्तरिय स्वास्थ्य सेवाको माग दाबी सहित उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा मंगलबार परमादेशको रिट निवेदन दायर गरिएको छ । विभिन्न अधिकारवादी संघ सस्थामा आवद्ध अधिकारकर्मी र कानून व्यवसायीहरुले कोभिड—१९ को संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रवन्ध र पर्याप्त पूर्व तयारी गर्न आदेशको माग गर्दै रिट दायर गरेका हुन् । रिटमा पर्याप्त पूर्वतयारी नगर्ने हो भने तेस्रो चरणको संक्रमणले अझ बढी जनधनको क्षति व्यहोर्नु पर्ने कुरालाई मध्यनजर गरेर पर्याप्त मात्रामा दक्ष स्वास्थ्यकर्मी तथा जनशक्तिको व्यवस्था गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न गराउनका लागि प्रयाप्त मात्रामा कोभिड वेड, भेन्टिलेटर, आईसियु, अक्सिजन लगायतका आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न गराउन आदेशको माग गरिएको छ ।
मुद्दामा भेरी अस्पताल, भेरी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेलाई विपक्षी बनाईएको छ । मुद्दाको प्रारम्भिक सुनुवाई बुधवार हुने अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।
नेपाल बार एशोसिएसन, एडभोकेसी फोरम नेपाल, महिला कानून र विकास मञ्च, फियान नेपालमा आवद्ध अधिवक्ताहरु सुनील कुमार श्रेष्ठ, वसन्त गौतम, सुरेश कुमार गौतम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र उपभोक्ता हित संरक्षण मञ्चमा आवद्ध अधिकारकर्मीहरु भोला महत, प्रभात कुमार ठकुरी र अधिवक्ताहरु लोक बहादुर शाह, बल बहादुर चन्द, विकास आचार्य र अमृता केसीले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।