खजुराले ल्यायो ७५ करोड ९३ लाखको बजेट
Thursday, June 24th, 2021, 12:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असार
खजुरा गाउँपालिकाले नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८-०७९ का लागि ७५ करोड ९३ लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । डालोमा बजेट बोकेर सभामा प्रवेश गरेकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले विहीवार प्रस्तुत गरेको उक्त बजेट सर्बसम्मतले पारित भएको छ । संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट सशर्त २ करोड ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख रहेको छ ।
बजेटमा अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान ७५ लाख ८५ हजार राजश्व बाँडफाँड तथा सवारी साधन कर ९२ लाख १३ हजार ५२३, राजश्व बाँडफाँड जग्गा रजिष्ट्रेशन १ करोड ९० लाख, समपुरक १ करोड ५० लाख र आन्तरिक स्रोतबाट आन्तरिक राजश्व १ करोड ७० लाख रहेको उल्लेख गरिन् ।
उपाध्यक्ष विकले प्रस्तुत गरेको बजेटले कृषिको आधुनिकीकरण, व्यवसायिकमार्फत कृषि उत्पादनमा जोड दिएको छ । कोभिड १९ नियन्त्रण तथा त्यसबाट सृजित समस्या समाधान, कृषि उत्पादनमार्फत बेरोजगारी समस्या समाधन र गरिबी निवारण, आर्थिक विकास, राजश्वको स्रोत पहिचान संकलन र परिचालन, सेवा प्रवाह, सुशासन संस्थागत विकास, जनसहभागिता, लैंगिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विपद व्यवस्थापन स्थान विशेषको सांस्कृतिक पहिचान, आधुनिक, व्यवस्थित र ग्रीन सिटीको विकास गर्ने कुरामा जोड दिएको छ ।
बजेट सार्वजनिक लगत्तै गाउँसभामा बाटै बजेटमाथि छलफल सुरु भएको छ । छलफलमा बिहीबार सभा सदस्य फिरोज खान, डिल्लीप्रसाद खनाल, सिता गुरुङ, जगबहादुर विक, किस्मत अलि साई, हजुरा बलमे भाग लिएका थिए ।
यस्तै, खजुरा गाउँपालिकाको आर्थिक विधेयक २०७८ अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, न्यायिक समितिको वार्षिक प्रतिवेदन र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव मणिराम खराल प्रस्तुत गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको छ । यसअघि बुधबार अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भइसकेको छ । यसैबिच खजुरा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सहयोगी दातालाई सम्मान गरेको छ ।