नेपालगन्जको बजेट १ अर्ब ५४ करोडको
Thursday, June 24th, 2021, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असार
नेपालगन्ज उप-महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट नगर सभामा पेश गरेको छ । चालु आव २०७७/७८ मा नेपालगन्जको कुल बजेट एक अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ५ करोड ३४ लाख ९३ हजार रुपैयाँ बढीको छ ।
उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन गरिएको छ ।
बजेट सार्वजनिक गर्दै उपप्रमुख थापा मगरले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताइन् । कोभिडका कारण गतवर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगञ्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढी व्यवसाय कर वृद्धि भएमा अनुमानित भन्दा बढी आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९/८० मा अनुदानको रुपमा उपलब्ध गराइने बजेटमा भनिएको छ । बजेटमा वहाल करमा छुट, अपांगता भएका व्यक्तिले सन्चालन गरेका व्यवसायको व्यवसायीक करको ५० प्रतिशत छुट, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा करमा ३० प्रतिशत छुटको नीति लिइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा २५ छुटको व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नयाँ उल्लेखनीय कार्यक्रमहरु ल्याएको छैन । साना योजनाहरु वडा तहमा पठाइएका छन् । नगरपालिकाले सार्वजनिक गरेका कार्यक्रमहरु यसअघिका वर्षकै निरन्तरता जस्तो देखिएका छन् ।