बाँकेमा यसवर्ष कुन–कुन बस्ती छन् बाढीको जोखिममा ?
Sunday, June 27th, 2021, 9:29 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १२ असार
बाँकेमा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालको बाढी अहिलेसम्मको ठूला र बढी क्षति भएको थियो । २०७१ साल साउन २८ र २९ गते आएको बाढीले २० जनको ज्यान लिएको थियो भने २०७४ साल साउन २९ गतेको बाढीले ८ जनाको ज्यान लिएको थियो । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेको तथ्यांकअनुसार २०७१ सालमा भन्दा २०७४ सालको बाढीमा बढी घरधुरी प्रभावित भएका थिए । २०७४ मा १६ हजार पाँच सय ५९ घरधुरी प्रभावित भएकोमा २०७१ सालमा १२ हजार तीन सय ४० घरधुरी प्रभावित भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यस वर्ष २५ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ । त्यसमध्ये २० हजार आंशिक र ५ हजार घरपरिवार पूर्ण प्रभावित हुनसक्ने आकलन गरिएको छ । ५ हजार परिवार स्थायीरूपमा विस्थापित हुनसक्ने आकलन समितिको छ ।
समितिले गरेको विपद् नक्सांकन अनुसार यसवर्ष सबैभन्दा बढी डुडुवा गाउँपालिका प्रभावित हुने छ भने सबैभन्दा कम जानकी गाउँपालिका प्रभावित हुने आकलन छ । डडुवा गाउँपालिकामा तीन हजार ६ सय ८२ घरधुरी प्रभावित हुन सक्नेछन् भने जानकीमा तीन सय २६ घरपरिवार प्रभावित हुन सक्नेछन् । यस्तै राप्तिसोनारीमा तीन हजार दुई सय ७९, कोहलपुर नगरपालिमा दुई हजार ३४, बैजनाथ गाउँपालिकामा एक हजार पाँच सय ४०, खजुरा गाउँपालिकामा एक हजार चार सय ९५, नेपालगन्ज उप–महानगरपालिकामा पाँच सय १०, नरैनापुर गाउँपालिकामा तीन सय ९१ घरधुरी प्रभावित हुन सक्नेछन् ।
डुडुवाका पिप्रहवा, कृषिचौफेरी, पाझा, खडैचा, टेपरी सन्तलिया, अमृतपूर्वा, भेलोरपूवा, दासपूर्वा, खालेपूर्वा, बाबागाउँ, कैरातीपूर्वा, कोहली रमपूर्वा, कटैहिया, हलकारापूर्वा, लोधपूर्वा, राजापूवा, खालेमसाहा, लालापूर्वा, खजुरा गौडि, लडियाघाट, सिधनिया तल्लो बस्ती, लिबाङ्गीटोल र सिवराजपुर टोलहरु बाढीको उच्च जोखिममा छन् ।

यस्तै राप्तिसोनारीका सिक्टा, जरुवा, बैरीया, ओजखोला, चप्परगौढी, तितेनघारी, भम्का, मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शम्शेरगञ्ज, बेलबास, राजपुर तल्लो बस्ति, शाहीपुर, नवलपुर, बैशा, गर्लाबाज, सिनाबाज, परसरामपुर, खैरेनी टोलहरु बाढीको उच्च जोखिममा छन् । यस्तै, लालपुर, धामपुर र भगवानपुर, पर्शुरामपुर, गौरी गाँउ, माहु, ललही, आलीनगर, पठरिया, रिहारडाँडा, चिलहरिया, सुनपसरी, बिलौना, खल्लाटेपरी, गोडिन पुरवा, मोहनपुर, लक्ष्मीराजपुर, तिनघरुवा, सीधनवा, गुलरी,डाँडा टपरी, मैमानपुर, दलैया, खल्ला झगडिया, बसन्तपुर, भवानियापुर, पहाडीपुर, देउपुरा, पिप्रहवा, गेदवा, सोनपुर, छपरतल्ली, भरथा, मैलोहरनिया, कोरी सर्यापुर, लालपुर, ननकौपुर, सर्रा उच्च झगडिया, बालापुर, पेरानी (खल्ला), ढकेरी, महादेवा र ढकेरी बस्ती बाढीको उच्च जोखिममा छन् ।







बााँकेका विपद् प्रतिकार्यमा २५ करोड ८४ लाख १८ हजार ६ सय रुपैयाँको अजेट आवश्यक हुने अनुमान गरिएको छ । जसमध्ये हाल एक करोड ८८ लाख ९४ हजार चार सय रुपैयाँको बजेट उपलब्ध छ भने बाँकी २४ करोड १० लाख ७२ हजार दुई सय रुपैयाँ अपुग हुने अनुमान गरिएको छ । बाढीबाट ५ हजार मेट्रिक टन खाद्यान्न, १० हजार मेट्रिक टन अन्नवाली (खडावाली) मा क्षति, ५ हजार हेक्टर खेती योग्य जमिनमा क्षति हुन सक्ने आकलन गरिएको छ ।