नेशनल हस्पिटलको नि:शुल्क क्यान्सर स्क्रिनिङ
Friday, February 3rd, 2017, 9:19 pm
amit
माघ २०, काठमाण्डौ । विश्व क्यान्सर दिवसका अवसरमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले नि:शुल्क क्यान्सर स्क्रिनिङ गर्ने भएको छ । ललितपुरको जावलाखेल स्थित सेन्टरले आफ्ना २०० सय विरामी, विरामीका आफन्त तथा जनमानसमा उक्त सेवा उपलब्ध गराउन लागेको हो ।
त्यसको साथै १०० जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका साथै विभिन्न सेवामा ५० प्रतिशत छुट दिने घोषणा सेन्टरले गरेको छ । आज पत्रकार सम्मेलन आयोजना गरी सेन्टरले यो घोषणा गरेको हो ।
दिवसका अवसमा क्यान्सरसाग लडिरहनुभएका, क्यान्सलाई जित्नु भएका विरामीहरुसाग पनि अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने सेन्टरकी बोर्ड सदस्य डा.सुशीला बैद्यले बताउनुभयो ।
हरेक बर्ष फेबुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिन्छ । यो बर्ष पनि क्यान्सरविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु लगायत क्यान्सरकाविरुद्धमा “हामी सक्छौ र म पनि सक्छु” भन्ने नारा अगाडि सारिएको छ ।
विकासोन्मुख देशहरुमा महामारीकै रुपमा फैलिएको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नियन्त्रणको लागि क्यान्सर स्क्रिनिङ कार्यक्रम देशभरि सञ्चालन गर्ने योजना सेन्टरले गरेको छ । हाल उक्त सेन्टरमा १६७७ जना क्यान्सरका विरामीहरु उपचारार्थ छन् । यसरी उपचार गरिररहेका विरामीहरुमध्ये फोक्सो, स्तन, ओभारियन, सर्भिक्स, कोलोरेक्टल तथा पेट सम्बन्धी क्यान्सरबाट प्रभावित रहेको सेन्टरले जनाएको छ ।
बढदो शहरीकरण, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैलीका कारण यो रोग दिनप्रतिदिन बढ्दो छ । विशेषज्ञहरुका अनुसार नेपालमा बर्षेनी ६० हजार भन्दा बढी क्यान्सरका विरामीहरु डाइग्नोसिस हुन्छन् । त्यसमा ८० प्रतिशत विरामी ढिलो अवस्थामा मात्र अस्पतालमा पुग्ने गरेका छन् ।