२ लाख ६४ हजारभन्दा बढी बालबालिका जोखिममा
Friday, August 6th, 2021, 1:08 pm
Kalpristha
डा. खेतानले तेस्रो लहर आउने र बालबालिका संक्रमित हुने भन्ने कुराले आत्तिनु भन्दा पूर्व सावधानी अपनाउनु नै उत्तम विकल्प भएको बताएका छन् । ‘तेस्रो लहर आफै आउने होइन । हामीले ल्याएपछि आउने हो । त्यसकारण हामी तेस्रो लहर ल्याउने कुनैपनि गल्ति नगरौँ । बालबालिकामा संक्रमण भयो भनेपनि ठूला मानिसहरुबाट नै हुने हो,’ डा. खेतानले भने ।
- तेस्रो लहर आइसकेपछिको लागि तयारी
- अस्पतालहरुमा जनशक्ती र सामग्रीको कमि
- पूर्ण लकडाउनको सट्टा ब्यालेन्स लकडाउनको सुझाव
वीरेन्द्र जैसी
नेपालगन्ज, २१ साउन
बाँके जिल्लामा सम्भावित कोभिड-१९ को तेस्रो लहरबाट ३ लाख ३३ हजार तीन सय ८७ जना प्रभावित हुनसक्ने आँकलन गरिएको छ । तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको ४३ पृष्ठ लामो प्रतिवेदनमा १८ वर्षमूनिका दुई लाख ६४ हजार सात सय ६३, एक वर्ष मूनिका १२ हजार तीन सय ७५, संभावित गर्भवति १५ हजार ३३ र ६० वर्ष माथिका ५३ हजार पाँच सय ९१ जना प्रभावित हुनसक्ने आँकलन गरिएको छ । उक्त प्रतिवेदनमा जिल्लामा कोभिडको तेस्रो लहरविरुद्ध गरिएको तयारी, कमिकमजोरी र सुझावहरु समेत प्रस्तुत गरिएको छ ।

तेस्रो लहरको जोखिम
डा. विनोद खेतान संयोजक रहेको उक्त समितिले बिहीबार आफ्नो प्रतिवेदन जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रलाई बुझाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइएको प्रतिवेदनमा कोभिड रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका सवालमा सुझाव दिइएको छ ।
प्रतिवेदनले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आँकलन गर्दै त्यहीअनुसारको तयारी गर्न सुझाव दिएको छ । समितिका संयोजक डा. खेतानले भने, ‘अहिले १८ वर्षमाथिका कतिपयले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन् । कतिले लगाउँदै छन् । कतिपय एकपटक संक्रमण भएर निको भइसकेका छन् । त्यसकारण अब जोखिममा रहेको ग्रुप बालबालिका, गर्भवति र ज्येष्ठ नागरिक हुन् ।’
डा. खेतानले तेस्रो लहर आउने र बालबालिका संक्रमित हुने भन्ने कुराले आत्तिनु भन्दा पूर्व सावधानी अपनाउनु नै उत्तम विकल्प भएको बताएका छन् । ‘तेस्रो लहर आफै आउने होइन । हामीले ल्याएपछि आउने हो । त्यसकारण हामी तेस्रो लहर ल्याउने कुनैपनि गल्ति नगरौँ । बालबालिकामा संक्रमण भयो भनेपनि अब ठूला मानिसहरुबाट नै हुने हो,’ डा. खेतानले भने । अहिले तेस्रो लहर आउन नदिनेतर्फ पर्याप्त सावधानी नदेखिएको खेतानले बताए ।
समितिले तयार गरेको प्रतिवेदनमा हालसम्म तेस्रो लहरको रोकथामका लागि सीमा नाकामा एन्टिेजेन परीक्षण गर्नेबाहेक सरकारी निकायबाट गरिएका कामहरु प्रभावकारी नभएको उल्लेख छ । नेपाली उपभोक्ताहरु दैनिक भारतीय बजार रुपैडिहा जाने प्रवृत्तिले पनि संक्रमण बढाउन भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ । सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गरी सेवा प्रदान गरिएको, पछिल्लो समय होल्डिङ सेन्टरको ठाउँ कम भएकोले १००० जना अटाउन सक्ने हलहरु निर्माणका लागि नेपालगन्ज-१४ मा जग्गाको पहिचान गरिएको प्रतिवेदनमा जनाइएको छ ।
तेस्रो लहर आइसकेपछिको लागि तयारी
जिल्लामा बरु तेस्रो लहर आइसेकपछिका लागि भने तयारीहरु गरिएको प्रतिवेदनले उल्लेख गरेको छ । निजी स्वास्थ्य संस्थाको छाता संगठनसँगको बैठकमा असार १३ गते नीजि अस्पतालहरुका बालबालिकाका लागि २० प्रतिशत शैया छुट्याउने सहमति भएको छ । भेरी अस्पतालमा विगतमा संचालनमा रहेको हल डि. लाई कोभिड १९ संक्रमित बालबालिकाको उपचारका लागी पेड्रीयाटिक वार्डका रुपमा तयारी गरिएको पनि प्रतिवेदनले भनेको छ । जिल्लामा रहेका बालरोग विशेषज्ञहरुको रोस्टर तयार गरी उनीहरुलाई आवश्यक परेको ठाउँमा खटाउने पनि निणर्य यसअघि नै भइसकेको छ । यसैगरी, स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ सम्बन्धि अभिमूखिकरण गराइएको र निरन्तरता दिनुपर्ने समितिको सुझाव छ ।
हाल जिल्लामा संचालित सबै अस्पतालहरुमा कोभिडको तेस्रो लहरको व्यवस्थापनको पूर्व तयारीस्वरुप अस्पतालहरुमा बालबालिकाहरुको कोभिड बेड संख्या थप र अस्पतालमा भएका बेडहरु, औजार उपकरण, अक्सीजन सिलिण्डर तथा पाईपलाईन, आइ.सि.यु., भेन्टिलेटर लगायतका कोभिड विरामी व्यवस्थापनमा अत्यावश्यक पर्ने सामग्रीहरु सरसफाई र मर्मत गर्नका लागि सम्वन्धीत अस्पतालहरुमा निर्देशन दिईएको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालहरुमा जनशक्ती र सामग्रीको कमि
बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको तेस्रो लहरमा बालबालिका विशेष स्वास्थ्यकर्मी र उपकरणको भने अभाव रहेको प्रतिवेदनले प्रकाश पारेको छ । बाँकेका कोरोना विशेष अस्पतालहरु भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र वेष्टर्न हष्पिटलमा जनशक्ती, बेड र उपकरण अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । थप ३२ जना बालबालिका विशेष जनशक्ती आवश्यक रहेको र ती जनशक्ति दुई महिनाभित्र उपलब्ध हुनुपर्ने प्रतिवेदनले भनेको छ ।

अस्पतालहरुमा जनशक्ती र सामग्रीको कमि
पूर्ण लकडाउनको सट्टा ब्यालेन्स लकडाउनको सुझाव
प्रतिवेदनमा हालसम्म हुँदै आएको निश्चित समयमा गरिने लकडाउनको साटो ब्यालेन्स लकडाउन गर्न सुझाव दिइएको छ । निश्चित समयमा मात्रै लकडाउन गर्दा एकैपटक धेरै मानिसहरु बाहिर निस्कँदा भिडभाड हुने भएकोले समय खुकुलो पारेर पसलहरुमा भिड हुन नदिनेतिर ध्यान दिनुपर्ने सुझाव दिइएको छ । तेस्रो लहरमा बालबालिका संक्रमित हुने सम्भावना बढी भएको भनेर सर्वसाधारणमा पर्ने मानसिक तनावलाई सम्बोधन गर्ने र जनचेतना जगाउनेतिर पनि ध्यान दिनुपर्ने प्रतिवेदनले भनेको छ । यसैगरी दशजगा को समानान्तार हुने गरी नेपाली भूमीमा बाटो वा नाली निर्माण गर्ने वा तारवार गर्ने सुझाव पनि समितिको छ । ठाँउ-ठाँउमा केही प्रवेश बिन्दु राख्ने र पुरै सीमाना भरी बिजुली बत्तिको व्यबस्था गर्ने एवं सकेसम्म सिसिटिभिको व्यवस्था गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ ।
अन्य उल्लेखनीय सुझावहरु :
- भारतीय सीमानाकामा कडाईपुर्वक स्वास्थ्य चेकजाँच गर्ने
- सीमावार वारपार आउजाउ बन्द गर्ने
- छिमेकी ठाउँहरुमा संक्रमण देखिएपछि आइसकेपछि नाकामा कडा चेकजाँच गर्ने ।
- स्थानिय तहमा कम्तीमा १ एम्बुलेन्सको व्यवस्था हुनुपर्ने ।
- कोभिड वार्डमा सबै नयाँ स्टाफ हँुदा उपचारको गुणस्तरमा गुनासो आएको कुरालाई मध्यनजर गरी नया र पुरामा डाक्टर नर्स र प्यारामेडिक्सको ब्यवस्थापन हुन पर्ने ।
- अस्पतालमा बिचौलिया प्रवेशमा निषेध गर्ने ।