नेपालको मौलिक सहर नेपालगन्जको ऐतिहासिक नालीबेली
Saturday, August 7th, 2021, 9:18 am
Kalpristha
-रामचन्द्र श्रेष्ठ
यसो हेर्दा लाग्छ
यो गन्जले प्रेम बिर्सिसक्यो ।
त्यसैले त खालिकाख उँघिरहेका छन् प्रेमका बंगलाहरु
एक—एक गरी अपहरित भए प्रेमका बर्सादीहरु
बेला-बेला लेउ लागिरहन्छ प्रेमपानीको तलाउमा ।
तर फेरि लाग्छ,
प्रेम बिर्सिने चिजै होईन ।
जब इदमा गला मिलिरहेका देखिन्छन्
मस्जिद, मन्दिर, गुरुद्धारा, चर्च र गुम्बाहरु
जब दशैंमा टिका लगाईरहेका भेटिन्छन्
अब्दुल र रामकृष्णहरु ।
यसो हेर्दा लाग्छ
यो गन्ज सहर बन्ने नाममा निर्जिव हुँदै छ ।
त्यसैले त जीवन भएकाहरु कि त बेवारिसे छन्
कि त निराशामा ।
त्यसैले त छालामा रंगरोगन हुँदैछ आत्माको खरानीले ।
तर
जब चिडिमारको गुलेलीले भर्न थालेको छ परिवर्तनको मट्याङ्ग्रा
जब घँसियारनको हँसियाले काट्न थालेको छ अन्यायको जिब्रो
जबसम्म कुनै मुटुमा धड्किरहन्छ रामलिला
जबसम्म चलिरहन्छ कुनै सायरको गुलाबी फोक्सो
तबसम्म
यो गन्जले सास फेर्न नभुल्ने आशा कसरी मार्नु ?
(‘सद्भावको सहर नेपालगन्ज’ पुस्तकमा संग्रहित विपी अस्तु रचित कविताको अंश)
======================
नेपाली साहित्यमा कुनै सहर, स्थान वा भुगोलमा केन्द्रित रहेर प्रकाशित पुस्तकहरु एकदमै कम छन् । विशेषगरी सहरमा आधारित पुस्तकहरु निकै कम छन् । केही पुस्तकहरु छन्, जस्तो कि केही वर्षअघि बडा सुन्दर एउटा कृति पायौँ, गिरिश गिरीको ‘वीरगन्ज’ । पोखराको बारेमा एउटा अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ जगन्नाथ अधिकारी र डेभिड पेजङपङको ‘पोखरा : बायोग्राफी अफ अ थङ’ । वीरगन्जलाई केन्द्रित गरेर लेखिएको एउटा उपन्यास पनि छ ध.च. गोतामेको ‘घामका पाइलाहरु’ । त्यस्तै बन्दीपुरलाई लिएर लेखिएको एउटा पुस्तक पनि छ तारालाल श्रेष्ठको ‘बन्दीपुरदेखि बन्दीपुसम्म’ । तर, सिङ्गो सहरको साङ्गोपाङ्गो विषयलाई केलाएर, सहरको आत्मालाई छोएर लेखिएका पुस्तकहरु अझै पनि नेपाली साहित्यमा कम नै छन् ।
हामीले अरु भाषाका साहित्य हेर्यौँ भने केही पुस्तकहरु भेट्छौँ । जस्तो कि ओरहान पामुकको ‘स्तानाबुल’ निकै चर्चित पुस्तक छ । फ्रेन्च राइटर डोमेन किल्यापिनोले लेखेको एउटा पुस्तक छ ‘सिटी अफ जोए’ । लखनाउबारे पुस्तक छ ‘द इपिक सिटी’ । विदेशतिर सहरमा केन्द्रित भएर धेरै किताबहरु ल्ेखिएका छन् । उपन्यासहरु लेखिएका छन् । कथाहरु लेखिएका छन् । सहरका स्मृतिहरु पनि उत्तिकै लेखिएका छन् ।
सहर केन्द्रित किताबहरु कम उपलब्ध भएको या खडेरी नै लागेको बेला मध्यपश्चिम स्रष्टा समाजबाट एउटा मोटो भोल्युम ‘सद्भावको सहर नेपालगन्ज’ प्रकाशन हुनु हाम्रो लागि सुखद कुरा हो । यो जम्माजम्मी ५३२ पेजको छ । हेर्दा ठूलो नै छ । यो पुस्तक निकै मिहिनतले एउटा टिम वर्कले प्रकाशन गरेको देखिन्छ । यसको प्रधान सम्पादक सृजन लम्साल हुनुहुन्छ भने अमृत शर्मा ढकाल कार्यकारी सम्पादक हुनुहुन्छ र सम्पादन मण्डलमा शुक्रऋषि चौलागाई, बालकृष्ण शर्मा, छत्रपति सिंह ठकुरी, महेन्द्र वाग्ले र विपि अस्तु हुनुहुन्छ । यसमा सनत रेग्मीको सल्लाह तथा निर्देशन भनिएको छ ।
म यसमा पुस्तकको समग्र समीक्षा गर्न गइरहेको छैन । म एक खालले पुस्तकलाई परिचय गराउँदै छु । ताकि हामी धेरैलाई यो पुस्तक पठनप्रति रुचि जागोस् भनेर । अनि अर्को चाहीँ सहरबारेको समाज विज्ञानसँग यो पुस्तकलाई म केही हदसम्म जाडेर हेर्ने कोसिस गर्नेछु ।
सुरुमा कुरा गरौँ नेपाली सहरहरुबारे । नेपाली सहरको निर्माण कसरी भयो ? एउटा भव्य सहरी संस्कृति भएको नेपाली सहर भनेको काठमाडौं उपत्यका नै हो । हामीले मानव समाजको इतिहासदेखि हेर्न थाल्यौं भने मान्छे एकै ठाउँमा बस्ने जात होइन । त्यो बसाइँ सरिराख्छ । त्यसको पछाडि उसको जीविकोपार्जनको स्रोतको खोजी हुनसक्छ या पानीको खोजी हुनसक्छ या राम्रो भुगोलको खोजी हुनसक्छ । अनि एउटा समुदाय र अर्को समुदायको झगडा पनि हुनसक्छ । काठमाडौं उपत्यकामा पनि यस्तै विधि कारणहरुले मानिसहरु विशेष गरेर उत्तरी भेगबाट बढी बसाइँ सरी आए । सुरुमा तीनीहरु हन्टिङ एण्ड ग्यादरीङकै सिलसिलामा आएका थिए । त्यसपछि उनीहरु पशुपालन अनि कृषितर्फ लाग्न थाले । स-सनागाउँहरु स-साना बस्तीहरु पनि निर्माण गर्न थाले । पछि लिच्छवीकालमा भारततिरका मानिसहरु राजनीतिक कारणबाट काठमाडौंमा आए । त्यसपछि उनीहरुले काठमाडौंका रैथानेहरुमाथि शासन गर्न थाले अनि राज्यको स्वरुपमा जान थाल्यो भनिन्छ ।
तर काठमाडौं आफ्नो सहरी संस्कृतिको विकास गर्नुपछाडिको कारण भनेको उपत्यकाको मलिलो माटो र बागमति नदी सिन्चित हुनु हो, जसले गर्दा काठमाडौंलाई बागमति नदीको सभ्यता पनि भन्न सकिन्छ । सुरुवाती चरणहरुमा मानिसहरु बसाइँसराइ गरेर आएपनि बिस्तारै त्यहीँका मानिसहरुकै कारण एउटा सहरको रुपमा जम्न थाल्यो । काठमाडौं उपत्यका भनेको इमजर््ड सिटी हो । आफैं बन्दै गइरहेको सिटी हो ।
अर्को खालको सहरहरु छन् नेपालमा जो चाहीँ प्रशासनिक कारणहरुले बनेका छन् । जस्तो कि तानसेनलाई एउटा उपमाको रुपमा लिन सक्छौँ । तानसेन राणाकालदेखि नै प्रशासनिक केन्द्रको रुपमा रह्यो र वरिपरिका पहाडि गाउँहरुको बजारको केन्द्र पनि बन्यो र सहरमा परिवर्तन हुन थाल्यो ।
त्यो बाहेक पछिल्लो चरणमा नेपालका सहरहरुको निर्माणको कारण भनेको राजमार्गहरुको निर्माण हुँदै जानु पनि हो । रामार्गहरु निर्माण हुँदै जाँदा जहाँ मार्गहरु क्रस भएका हुन्छन्, चोकहरु स्थापनाभएका हुन्छन् ती चोकहरु वरिपरि बिस्तारै मान्छेहरु बसाइँ सर्दै आए ।
संसार भरी नै हेर्ने हो भने सहरी सभ्यता विशेष गरेर नदी किनारमा स्थापित भएको छ । जस्तो एउटा पुरानो सहर इराक या बेबिलोनको सभ्यताको कुरा गर्यौँ भने त्यो टिग्रीस नदीको सभ्यताको रुपमा लिइन्छ । या मिश्रको सभ्यता नाइल नदीको किनारमा विकसित भयो । यता चिनमा होङ्सी नदीको किनारको सभ्यताहरु । त्यसैले नदी किनारले सभ्यता बनाउँदो रैछ । तर, नेपालगन्जको प्रसंग अलि फरक छ ।
यो पुस्तकमा विजय वर्माले एउटा प्रश्न गर्नुहुन्छ, ‘संसारको सभ्यताको इतिहासमा सबै सभ्यताहरु नदी किनारमा स्थापित भएका छन् तर नेपालगन्ज किन भएन ? नेपालगन्ज सहर भूगोलको हिसाबले जंगलको बिचमा स्थापना कसरी भयो ?’ मलाई लाग्छ यो पुस्तकको सबैभन्दा केन्द्रको विषय भनेको त्यही हो ।
भूगोलको हिसाबले नेपालगन्ज नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ हो । अर्कोतर्फ जंगलको बिचमा थियो पहिला । न नजिकै कुनै ठूलो नदी छ । तर पनि नेपालगन्ज कसरी सहरकोरुपमा उदायो ? किन मानिसहरु त्यहाँ पुगे ?
सहरबारे सामाज विज्ञानमा दुई वटा शब्द बढी उच्चारण गरिन्छ, स्पेश र प्लेस । स्पेशले मुख्यतः भूगोलललाई बुझाउँछ । कुनै ठाउँ कुनै थलो भूगालेको रुपमा कसरी स्थापित हुन्छ ? भूगोल नै कसरी निर्माण हुन्छ ? किनभने प्रकृतिले दिएको भुगोलमा मात्रै मानिस यत्तिकै बसेको हुँदैन । मानवीय प्रयत्नले त्यसलाई बस्न लायक ठाउँको रुपमा परिवर्तन गर्नुपर्दछ । त्यस्तो भुगोल कसरी बन्यो ? मान्छेले स्पेश बनाएर मात्रै हुँदैन त्यहाँ मानवीय गतिविधिहरु सुरु हुन्छन्, व्यापार व्यवसाय सुरु हुन थाल्छ । मान्छेका संस्कृतिका आदानप्रदान हुन थाल्छन् र त्यसले एउटा चरित्र बनाउन थाल्छ । मुर्त संस्कृति सँगसँगै अमुर्त संस्कृतिहरु निर्माण हुन थाल्छ । मानवीय अन्तरसम्बन्धहरुको एउटा ठूलो जालो बन्न थाल्छ । त्यसले सहरलाई, त्यो बस्तीलाई स्पेशबाट प्लेसतर्फ मोड्छ । यो पुस्तकमार्फत हामीले खोज्ने भनेको त्यही हो । नेपालगन्ज त्यो जंगलको बिचमा कसरी स्थापित भयो ? र कसरी प्लेस मेकिङतर्फ गयो ?
यो पुस्तक विविध विषयको एउटा संगालो हो । एक प्रकारले भन्दा यो खिचडी छ । विषयसुचिमा सुरुमा नेपालगन्ज उप-महानगरपालिकाको संक्षिप्त परिचय भनेर राखिएको छ । त्यसमा थुप्रै तथ्यांकहरु छन् । त्यसपछि शिर्षक दिइएको छ, त्यसबखतको नेपालगन्ज भन्ने । त्यसमा सनत रेग्मी, वि. विकास, पन्नालाल गुप्ता, डा. कृष्णजङ्ग रायमाझी, विजय, वर्मा, लोकबहादुर शाहको लेखहरु छन् । यी लेखमा नेपालगन्जको पुरानो झल्को छ । त्यसपछि जनजागरण र राजनीति शिर्षकमा श्यामकुमार तामाङ, पूणर्मान आजाद पत्तेसिंह थारु, ऋचा लुईँटेल र नमस्कार शाहका लेखहरु छन् । संस्कार र संस्कृतिमा यहाँका अवधि, मुस्लिम र थारु संस्कृतिबारे र सद्भावका विषयमा सच्चिदानन्द चौवे, इद्रिस सायल, डा. राजकुमार सुवेदी, अर्जुन ओलीका लेख छन् भने समाज र सेवा शिर्षकमा नेपालगन्जका सामाजिक संस्थाहरुबारे सनत रेग्मी, अजितकुमार शर्मा र नमस्कार शाहका लेखहरु छन् । नेपालगन्जका सिमान्तकृत भनेर विषेशगरी सिमान्तकृत जातीहरुको बारेमा बडा सुन्दर लेख शुक्रऋषि चौलागाईंले लेख्नुभएको छ ।
शिक्षा, स्वास्थ्य र खेलकुद शिर्षकमा प्रा. डा. गोपालप्रसाद शर्मा अधिकारी, नरेन्द्रजंग पिटर, सुरेशकुमार कनोडिया, शेम शाक्य, अजितकुमार शर्मा, टि.एस. ठकुरीका लेखहरु छन् । उद्योग र व्यापार शिर्षकमा अच्यूत पूसाई, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, रविन्द्रनाथ शुक्ल र निशु जोशीका लेखहरु छन् । यस्तै भाषा, साहित्य, कला र पत्रकारिताबारे इन्द्रबहादुर भण्डारी इन्देणी, बालकृष्ण शर्मा, सनत रेग्मी, लोकनाथ वर्मा राहुल, अब्दुल लतिफ शौक, खगेन्द्र गिरी कोपिला, सोम डेमनरौरा, कमल विके, पूणर्लाल चुके, झलक गैरेका लेखहरु यस पुस्तकमा छन् ।
अनि महानगरको बाटोमा नेपालगन्ज भनेर अहिलेका कुराहरु चर्चा गरिएको छ । इश्तियाक राई, डा. धवलशमशेर राणा, प्रा.डा. जनार्दन आचार्य र प्रभाकर मिश्राका लेख एवं अन्तर्वार्तामा आधारित सामग्रीहरु छन् । त्यसपछि चाहीँ सृजनाको कुरा छ । डा. दामोदर पुडासैनी, प्रेमप्रकाश मल्ल, वासुदेव अधिकारी र विपि अस्तुका कविताहरु छन् । त्यसपछि गद्य खण्ड भनेर कथा, संस्मरण र निबन्धहरु छन् । जसमा अमर न्यौपाने, केशव सिग्देल, छत्रपतिसिंह ठकुरी, नारायण ढकाल, नयनराजराज पाण्डेहरुका सृजनाहरु छन् ।
अन्तिममा नेपालगन्जको पहिलो भनेर सामान्यज्ञानजस्तो रोचक तथ्यहरु राखिएको छ र त्यसपछि तस्बिहरु छन् । यी सबै सामग्रीले नेपालगन्जका सबै पक्षलाई समेट्ने झल्को दिएका छन् । यो पुस्तकमा केही लेखहरु पूर्वप्रकाशित बुलेटिन, पत्रपत्रिका र पुस्तकहरुबाट साभार गरिएको छ भने केही लेखहरु अन्तवार्तामा आधारित छन् । यसरी यो पुस्तक तयार गरिएको छ ।
यो पुस्तकमा पहिलो लेख सनत रेग्मीको छ । उहाँको नेपालगन्ज र तत्कालिन समय भन्ने लेखले लगभग समग्र नेपालगन्जको चित्र कोर्छ । उहाँका अनुसार नेपालगन्जको प्राचिन इतिहास चौधौँ सताब्दिबाट छ । नेपालगन्जले चौधौं सताब्दि देखिको विरासत बोकेको छ भनेर नेपालगन्जको इतिहासलई त्यति परसम्म जोड्न खोजिएको छ । र त्यहाँ भएका किल्लाले पनि त्यसको केही संकेतहरु गरेको भन्ने देखाइएको छ । चौधौं सताब्दिको चर्चा गर्दा हालको नेपालगन्ज रहेको स्थानभन्दा आसपासका क्षेत्रमा केन्द्रित गरिएको छ ।
मुख्य गरेर यो व्यापारले बनेको ठाउँ हो । विशेष गरेर खसानको क्षेत्र जुम्ला मुगु हुम्लादेखि सल्यानका कणर्ाली व्यापारका भारत जाने र भारतका मानिसहरु पनि व्यापारका लागि नेपाल आउने र तीनीहरु जोडिने ठाउँका रुपमा १४ औं सताब्दिदेखिको विरासत पुस्तकमा उल्लेख गरिएको छ । एकपटक दैलेखी सामन्तले पनि राज गरेको भन्ने इतिहासको तथ्य पनि यसमा उल्लेख गरिएको छ । यसको टर्निङ पोइन्ट भने १८५७ देखि आउँछ । सुगौली सन्धिको बेलामा यो क्षेत्र हालको बाँकेसहित पश्चिमको पूरै क्षेत्र तत्कालिन ब्रिटिस अधिन भारतको तुलसीपुर स्टेट अन्तर्गत गाभिन गयो । सन् १८५७ मा भारतमा सैनिक विद्रोह भयो । जंगबहादुर सैनिकको नेतृत्व गर्दै आफै गएर लखनउ विद्रोह दबाउनलाई सहयोग गरे । जसवाफत १८६५ मा नेपालले यो भूगोल फिर्ता पायो ।
त्यसपछि यो क्षेत्रलाई जंगबहादुरले चार जिल्लामा प्रशासनिक विभाजन गरे र यसलाई नयाँ मूलुकका रुपमा चिन्न थालियो । यसरी हेर्दा सनत रेग्मीले पुस्तकमा के भन्नुहुन्छ भने नेपालगन्जको इतिहासका दुई पाटा छन् । एक चौधौं सताब्दिको बिचदेखि यता १८५७ सम्मको र अर्को त्यसपछिको ।
१८५७ पछिको नेपालगन्ज सहरको इतिहासलाई पनि सनत रेग्मीले दुई हिस्सामा विभाजन गर्न चाहनुभएको छ । एउटा १९१७ देखि २०३० सम्म यो निर्माणको चरण रह्यो र त्यसपछि विकासकाल । पुस्तकमा मुख्य तथ्य के पाइन्छ भने १८५७ मा सैनिक विद्रोहमा हार व्यहोरिसकेपछि वेगम हजरत महलले यो ठाउँमा शरण लिइन् । उनले धेरै दासदासीहरु पनि लिएर आएकी थिइन् । केही दासदासीहरु फर्के तर धेरै यहीँ बसे र उनीहरुले यहाँ मस्जिद बनाए ।
पुस्तकमा लेखिएको छ, ‘सन् १९६१ मै जंगबहादुरले पश्चिम नयाँ मूलुकमा एउटा सहर बसाउन सिद्धिमानसिंह राजभण्डारीलाई नयाँ मूलुकको बडाहाकिम र सुब्बा पद्य्मनाभ जोशीलाई सहर बसाउने तैनाथवाला हाकिम बनाई नेपालगन्ज पठाए । अनि सुरु भयो नेपालगन्जको इतिहास ।’ त्यसपछि यहाँको प्रशासनिक अध्याय सुरु भयो ।
यसबाट हामी के बुझ्न सक्छौँ भने यो क्षेत्र १४ औँ सताब्दि देखिको विरासत बोकेको भूगोल थियो र व्यापारको एउटा बाटो्र थियो । तर त्यो व्यापार एकदमै प्रारम्भिक खालको थियो । नेपालले यो भूगोल फिर्ता पाइसकेपछि सन् १८६१ देखि यहाँ प्रशासनिक अभ्यास सुरु भए ।
यसको सारमा हामी के भन्न सक्छौँ भने नदी किनारमा उठेका सभ्यताहरुको एउटा इतिहास छ । तर नेपालगन्जको मौलिक इतिहास के हो भने यो व्यापारिक मार्गमा प्रशासनिक पर्यत्नले बनेको सहर हो ।
पुस्तकमा त्यसपछिको सिलसिलाहरु आउँछ । प्रशासनिक पहलपछि स्वभाविकरुपले विभिन्न क्षेत्रबाट मानिसहरु यहाँ आउन थाले । त्यसपछि उनीहरु साना-साना टोलहरु बनाएर बस्न थाले । सनत रेग्मीको लेखमा बडा रोचक ढंगले टोलहरुको नामाकरण कसरी भयो भनेर उल्लेख गरिएको छ ।
प्रशासनिक अभ्यासपछि नेपालगन्जमा ३ सय ६० कोठीहरु बनाइएको थियो । जुद्ध शमशेरको पालामा आइसकेपछि विभिन्न अड्डाहरु बनाइएको छ । जसले गर्दा यो आकर्षणको केन्द्र पनि हुन गयो । विभिन्न ठाउँ र समुदायका मानिसहरु यहाँ आउन थाले ।
सुगौली सन्धिको लगत्तै यो जमिन जंगल नै थियो भन्ने पुस्तक पढ्दा अनुमान गर्न सकिन्छ । बरु यहाँ एउटा किल्ला थियो । जहाँ दैलेखी राजाहरुले र सामन्तहरुले पनि शासन गरेका थिए ।
यसरी नेपालगन्ज स्पेशको रुपमा परिणत हुन थालेपछि चलपहल कसरी हुन थाल्यो भन्ने विषयमा पनि पुस्तकमा मिहिन ढंगले उल्लेख गरिएको छ । कुनैपनि क्षेत्रलाई चलायमान बनाउने भनेको उत्पादनले नै हो । नेपालगन्ज पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र बन्न थाल्यो । जुम्लादेखि मुग्लान सम्मका मानिसहरु यहाँ जम्मा हुन थाले । त्यसैले त्यतिखेर दुई शब्दावलीहरु प्रयोगमा आए, खसियारी र मुग्लानीया ।
यो पुस्तकमा अर्को रोचक कुरा के छ भने यहाँ टांगाहरु कसरी आए ? लडियाहरु कसरी आए ? त्यसबारेमा विस्कृतरुपमा लेखिएको छ । आर्थिक हैसियतअनुसार मानिसहरु कस्ता यातायातका साधनको प्रयोग गर्थे ? कस्ता गरगहना प्रयोग गर्थे ? भन्ने कुरा पनि पुस्तकमा उल्लेख छ ।
यो पुस्तक पढिरहँदा नयनराज पाण्डेको ‘उलार’को सम्झना आइरहन्छ । नेपालगन्ज भन्नेबित्तिकै दिमागमा आउने भनेको उलार, प्रेमललवाको वसन्ती, टांगा हुन् । ती प्रसंगहरुलाई मजाले खोल्ने इतिहासहरु यस पुस्तकले बताइराखेको छ ।
अर्कोतिर पुस्तकले प्रष्टरुपमा नभनेपनि यसमा आएका विवरणले त्यतिबेलाको अर्थराजनीतिलाई संकेत गर्छन् । राणासाशनको समयमा विशेषगरी चन्द्रशमशेरको पालामा नेपालको सिमानासम्म तत्कालिन ब्रिटिस शासित भारतले रेलको लिक बिछ्याउँदै थियो । त्यसको लागि उसलाई ठूलो मात्रामा काठको आवश्यकता थियो । त्यतिबेला त्यसकै लागि नेपालको चुरे क्षेत्रको चारकोसे भाडीलाई व्यापकरुपमा फडानी गरिएको थियो । त्यो काठ लैजाने मार्ग नेपालगन्ज नै थियो । त्यसकारण नेपालगन्ज व्यापारिक मात्रै नभई तत्कालिन औपनिवेशिक चरित्रको परीणामले पनि सहरको रुपमा विकसित हुन पाएको हो । यसको इतिहासले त्यसबेलाको औपनिवेशिक सम्बन्धलाई पनि बताइरहेको छ ।
मानिसहरु यहाँ आउन थालेपछि उनीहरुले मनोरन्जन लगायतका लागि केही अमुर्त सम्पदाहरु पनि निर्माण गर्छन् । अर्कोतिर रानीतिक इतिहाँसबारे पुस्तकमा खासै धेरै चर्चा नगरिएपनि रोचक ढंगले २००७ सालको पृष्ठमूभि उल्लेख गरिएको छ । २००७ सालको क्रान्तिको कुरा गर्दा खासै धेरै नेपालगन्जको चर्चा गरेको सुनिँदैन । तर नेपालगन्जले त्यसबेला पनि केन्द्रको रुपमा काम गरेको रैछ भन्नेकुरा पुस्तकमा पढ्न पाइन्छ । म के कुरामा चकित परेँ भने २००७ सालको क्रान्तिको पूर्वसन्ध्यामा नेपालगन्जमा थुप्रै समितिहरु बनेका छन् । पुस्तकमा कार्यकर्ताहरुको लामो सुचि पनि उल्लेख छ । त्यसमा महिलाहरुको उपस्थिति पनि उल्लेखनीय मात्रामा छ । ६ जना महिलाहरुको नाम छ । मुन्नीदेवी बाहुनी भन्ने एकजना शिक्षिकाको भुमिका उल्लेख छ । उनी एक शिक्षिकाकारुपमा काम गरेकी थिइन् । यसबाट के थाहा हुन्छ भने २००७ सालको क्रान्तिमा नेपालगन्जले पश्चिम नेपाल र कर्णाली प्रदेशको केन्द्रको रुपमा ठाउँ दिएको थियो । यसले आर्थिक संकलनको काम गरेको थियो । कार्यकर्ता निर्माणको काम गरेको थियो । यसरी नेपालगन्ज व्यापारिक मात्रै होइन राजनीतिक वैभव बोकेको ठाउँ पनि हो भन्ने कुरा यस पुस्तकले बताउँछ ।
यस पुस्तकको सबै कुराहरु एक-एक गरी चर्चा गर्दा धेरै समय लाग्छ । यसमा सबै कुराको ऐतिहाँसिक झल्को पाउन सकिन्छ । तपाईंलाई नेपालगन्जको पत्रकारिताका बारेमा जान्नुपर्यो भने झलक गैरेको ओजपूणर् लेख यसमा छ । नेपालगन्जको राजनीतिका बारेमा श्यामकुमार तामाङको लेखदेखि पछिल्ला युवा जागरण, पन्चायत कालका गतिविधिहरु पनि यसमा उल्लेख गरिएको छ । संस्कृति, कला सबै विषयमा पुस्तकमा चर्चा गरिएको छ ।
सहर भन्नासाथ भूगोल र त्यसको क्रानोलोजिकल हिस्ट्री मात्र हुँदैन । त्यो सँग जोडिएका मान्छेका स्मृतिहरु हुन्छन् । मलाई यो पुस्तक पढ्दा सबैभन्दा रोचक लागेका विषय, यो सहरको इतिहास र अर्को यो सहरले निर्माण गरेका स्मृतिहरु नै हुन् ।
यहाँ केशव सिग्देलको एउटा सुन्दर स्मृति छ, ‘ए बे नेपालगन्ज भन्ने’ । यो चाहीँ खानासँग जोडिएको छ । उहाँ बिहानै जेरी र दही खानुहुन्छ । नेपालगन्जको पहिचानको रुपमा त्यो स्थापित भएको रहेछ । त्यो यति प्रख्यात रहेछ कि काठमाडौमा बिहानै दही र जेरी खाँदै गर्दा अर्को टेबलमा बसेको मान्छेले ‘ए बे नेपालगन्ज’ उच्चारण गरिदिन्छ । यस पुस्तकको गद्य खण्डमा भएका कथाहरुले सहरले कसरी स्मृतिहरुको निर्माण गरेको छ भन्ने प्रष्ट्याएका छन् ।
मलाई लाग्छ सद्भावको सहर नेपालगन्ज पुस्तकले नेपाली साहित्यमा एउटा उल्लेखनीय भूमिका के अर्थमा पनि राख्छ भने यसले बाटो कोरेको छ । यो सम्पूणर् होइन । यसमा कयौँ सीमितताहरु छन् । धेरै कुरा समेट्न खोज्दाखेरि यो खिचडीजस्तो पनि बनेको छ । त्यसले कताकता किताबको स्वादमा अलि असर पर्छ । अर्को कुरा यसमा सन्दर्भहरु एकदमै धेरै उपस्थित छन् । तर ती छरपष्ट छन् । तीनलाई संगठितरुपमा विश्लेषण गरिएको चाहिँ अलि कम छ । सनत रेग्मीको लेखमा त्यो कोसिस देखिन्छ । तर उहाँको लेख पनि छिचरिएको छ ।
यी दाँतमा लागेका ढुंगाहरु हुन् । अझै यस्तो भइदिएको भए हुन्थ्यो भन्ने मनसायले लागेका । यो पुस्तकको महत्व भने ती ढुंगाले कम गराएका छैनन् । यो पुस्तकले एउटा बलियो ओज कायम गरिसकेको छ ।
यसको नामाकरणका लागि सम्पादन मण्डलले निकै नै दिमाग खियाएको हुनुपर्छ भन्ने लाग्छ । एउटा सुन्दर शब्दावली प्रयोग गर्नुभएको छ ‘सद्भावको सहर नेपालगन्ज’ । यी शब्दको अर्थमात्रै होइन भाव बुझ्नका लागि हाम्रो निकट विगतमा फर्किनुपर्ने हुन्छ । २०६३ सालमा पहिचानको आन्दोलन अघि बढिरहँदाखेरि केही ठाउँमा अलिकति बाटो बिगारेको थियो । केही ठाउँमा अराजकताको रुप लिएको थियो र समाजका नकारात्मक चिन्तन प्रवृत्तिको कारणले कतिपय ठाउँमा साम्प्रदायिक झगडा पनि भएको थियो । त्यसको एउटा ज्वलन्त उदाहरण नेपालगन्जमा देखिएको थियो । मधेसी र पहाडीको नाममा, हिन्दु र मुसलमानको नाममा टकरावहरु सृजना गरिएका थिए । तरपनि सिंगो देशको सन्दर्भमा हेर्ने हो भने नेपाल बहुभाषिक र बहुसाँस्कृतिक देश हुँदाहुँदै पनि ठूलो साम्प्रायिक दंगा भएको कुनै इतिहास छैन । भारतमा त्यो छ । लाखौँ मान्छेहरु मारिएका छन् । तर नेपालमा त्यस्ता मामिलाहरुलाई तुरुन्तै मिलाउन सक्ने क्षमता छ । सद्भावको अनुपम उदाहरण भनेको नेपाल हो र त्यसको सबैभन्दा सही उदाहरण नेपालगन्ज हो ।
यी शब्दावलीको पृष्ठभूमिका निकट विगतको त्यो छाप रहेको छ । यसले के पुष्टि गर्न खोज्दैछ भने २०६३ मा देखिएको त्यो सानो झिल्को सानो गल्ति मात्र हो । त्यो अब सकिसक्यो । अघि मैले सुरुमा उद्धरण गरेको कवितामा भनेजस्तो, यहाँ हिन्दु मुसलमान मात्रै होइन जनजाती, सिमान्तकृत समुदायहरु पनि छन् । ती सबै मिलेर बसेका छन् ।
मिल्नु पछाडि धेरै आयामहरु होलान् । राजनीतिक संघर्षहरु एक ठाउँमा होलान् । इतिहासका कमजोरीहरु एक ठउँमा होलान् । तर फेरि पनि नेपालगन्जले प्रतिनिधित्व गरेको जातीय, भाषिक र धार्मिक सद्भाव नै हो । हाम्रो समाजका अनेक सीमाका वाफजुद पनि नेपालगन्जले सद्भावको अनुपम उदाहरण प्रस्तुत गरेको छ भनेर यो पुस्तकले पुष्टि गरेको छ । यसअर्थमा पनि यो पुस्तको भूमिका उल्लेखनीय छ भन्ने मलाई लाग्छ । म सबैलाई यो पुस्तक एक पटक पढ्नका लागि अनुरोध गर्छु ।
(रामचन्द्र श्रेष्ठले कर्णाली रिडर्स सोसाइटीको अनलाइन पुस्तक परिचर्चामा प्रस्तुत गरेको समीक्षात्मक टिप्पणीमा आधारित लेख, शब्द रुपान्तरणः कालपृष्ठ )