कुलबहादुरका पिताले वि.सं. २०५१ सालमा उद्योग सपरिवार नेपालगन्ज सारे । उक्त उद्योग त्यसबेला नेपालगन्जमा मात्रै नभई पश्चिम नेपालमै पहिलो चाउमिन उद्योग थियो । हाल नेपालगन्ज उप-महानगरपालिका-२० मा बुवाले सुरु गरेको सोही ‘माँ लक्ष्मि चाउमिन उद्योग’को विरासत उनले धानिरहेका छन् ।
भिडियो :
वीरेन्द्र जैसी
नेपालगन्ज, २४ साउन
हाल खाजा नास्तामा लोकप्रिय परिकारको सुचीमा सायद पहिलो नम्बरमा पर्छ चाउमिन । गाउँको सानो चियापसलदेखि पाँचतारे होटल अनि घरको भान्सा, जताततै चाउमिनले आफ्नो उपस्थिति जनाइरहेको छ । बच्चादेखि बृद्ध सबैको प्रिय खाजा बनेको चाउमिन नेपाली मौलिक परिकार भने होइन ।
चिनियाँ मौलिक परिकार चाउमिनको हालको जस्तो क्रेज आजभन्दा करिब ३० वर्षअघि हुने कुरै भएन । त्यतिबेला मानिसहरुले चाउमिन खाने तरिका पनि जानेका थिएनन् । चाउचाउको अनुहारसँग मिल्ने यो परिकारका बारेमा मानिसहरुलाई धेरै चासो थिएन । त्यहीबेला कुलबहादुर चर्तिमगरका पिताले चितवनको नारायणघाटमा चाउमिन उद्योग खोले ।
चाउमिन उत्पादन हुन थालेपछि त्यसले बिस्तारै लोकप्रियता कमाउँदै गयो । लोकप्रियतासँगै उत्पादनले बजार पनि विस्तार गर्दै गयो । नारायणघाटबाट अन्य सहरमा पनि चाउमिन जान थाल्यो । नेपालगन्ज पनि ट्रकमा चाउमिन पठाउन थालियो । ‘त्यतिबेला अहिलेको जस्तो ताजा चाउमिन हुन्थेन । ड्राइ चाउमिन नै हुन्थ्यो । त्यसो भएर बाहिर पठाउन सजिलो हुन्थ्यो,’ कुलबहादुुुरले भने ।नेपालगन्जमा चाउमिनको लोकप्रियता बढ्दै गएपछि यहाँका व्यापारीहरुले उपभोक्ताको माग बढ्दै गएकोले यहीँ आएर उद्योग खोल्न सुझाए । सुझाव ग्रहण गर्दै कुलबहादुरका पिताले वि.सं. २०५१ सालमा उद्योग सपरिवार नेपालगन्ज सारे । उक्त उद्योग त्यसबेला नेपालगन्जमा मात्रै नभई पश्चिम नेपालमै पहिलो चाउमिन उद्योग थियो । हाल नेपालगन्ज उप-महानगरपालिका-२० मा बुवाले सुरु गरेको सोही ‘माँ लक्ष्मि चाउमिन उद्योग’को विरासत उनले धानिरहेका छन् ।
उद्योगमा काम गर्दै कुलबहादुर
नेपालगन्जमा उद्योग सार्दा यहाँ चाउमिनको लोकप्रियता नभएको सम्झिँदै कुलबहादुर भन्छन्, ‘त्यतिबेला बजार क्षेत्रमा मात्रै माग थियो । हामीलाई यहाँको भाषा बुझ्न पनि समय लाग्यो । कतिपयलाई खान आउँथेन । कतिलाई पकाउनै आउँथेन । कति ठाउँमा हामी आफै गएर पनि पकाउने तरिका सिकायौँ ।’
अहिले भने चाउमिनको माग उच्च छ । बजारदेखि गाउँसम्म चाउमिनका पारखी छन् । तराईं क्षेत्रमा ताजा अर्थात आलो चाउमिनको माग बढी छ । तर माँ लक्ष्मीमा सुख्खा चाउमिन मात्रै उत्पादन हुन्छ । उक्त चाउमिनको बजार नेपालगन्ज मात्रै नभई लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाहरु पनि हुन् । पहाडतिर आलो चाउमिन ढुवानी र भण्डारणमा समस्या हुने हुँदा सुख्खा चाउमिनको बढी माग छ ।
चाउमिन प्याकेजिङ गरिँदै
हाल मासिक पाँच लाखको चाउमिन उत्पादन हुने गरेको तुलबहादुर बताउँछन् । तीन जना कामदार र चर्ती दम्पत्तिले समेत श्रमिक बनेर उद्योग चलाइरहेका छन् । उद्योगबाट राम्र्रै आम्दानी हुने गरेको प्रमाण उनले चाउमिनबाट बनाएको घर र दुई वर्षअघि सुरु गरेको क्रेन भाडामा दिने व्यवसाय नै हुन् । उनीसँग हाल दुईवटा क्रेन छन् । चार जनालाई रोजगारी दिएका छन् । बाँकेमा रहेका ४ वटा भाडामा क्रेन पाइने ठाउँमध्ये एउटा उनको हो । दुवै व्यवसायबाट हुने आम्दानीले उनी सन्तुष्ट छन् ।
क्रेन व्यवसाय सुरु गर्दा क्रेनको ड्राइभरलाई लाइसेन्स नदिँदा दुःख पाइएको, हेभी गाडी भएकोले ट्राफिकले दुःख दिने गरेको र अरुले गल्ती गरेकोमा पनि अपजस खेप्नुपर्ने गरेको बाहेक समस्या नरहेको चर्तिले बताए ।
चाउमिन उद्योग बढीमा दुई लाखमा सुरु गर्न सकिने र मासिक ३०-३५ हजार आम्दानी गर्न सकिने व्यवसाय भएको कुलबहादुर बताउँछन् । सजिलो र सानो लगानीबाट सुरु गर्न सकिने एवं आम्दानी पनि राम्रो हुने घरेलु उद्योग भएकोले उद्योगीहरु पनि बढ्दै गएको कुलबहादुर बताउँछन् ।
२०६५ सालमा चाउमिन उद्योगीको संघ गठन गर्दा देशभरी एक हजार एक सय ६५ जना उद्योगी सम्पर्कमा आएका थिए । हाल आएर त्यो संख्या चार हजार पाँच सय पुगिसकेको उनी बताउँछन् । दुई वर्षअघि बाँके र बर्दियामा ६५ वटा उद्योग रहेको उनी बताउँछन् ।
चाउमिन सुकाईँदै
चाउमिन उद्योग एक सजिलो र सानो लगानीबाट सुरु गर्न सकिने व्यवसाय भएकोले यसलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने कुलबहादुरको भनाइ छ । व्यवसायीहरुलाई सरकारी निकायबाट नयाँ प्रविधिबारे तालिम दिनु र प्राविधिक ज्ञानबारे सहजीकरण गर्नु आवश्यक रहेको उनले बताए । हालसम्म आफूले सरकारी निकायबाट कुनै सहयोग नपाएको उल्लेख गर्दै उनले भने, ॅमैले अहिलेसम्म एकपटक पनि तालिम पाएको छैन । हुन त म पनि घरेल कार्यालयमै दर्ता छु । तालिम दिइन्छ भन्ने सुन्छु । तर कसलाई दिइन्छ थाहा छैन ।’ उनले सरकारी निकायले वास्तविक व्यवसायीलाई पहिचान गर्नुपर्ने सुझाव दिए ।
यसका वाफजुद उनी चाउमिन व्यवसायमा आउन नयाँ पुस्तालाई सुझाव दिन्छन् । आफूले जानेको ज्ञान हस्तान्तरण गर्न पनि तयार रहेको उनको भनाई छ । आफै श्रम गर्न तयार हुने हो भने चाउमिन उद्योग एक राम्रो आम्दानीको बाटो हुनसक्ने उनको भनाइ छ । ‘लगनका साथ श्रम गर्ने हो भने फाइदा हुन्छ । साहु भन्न खोज्नुभएन,’ उनले भने । उनी आफै अहिले पनि उद्योगमा श्रम गर्छन् ।
चर्तिको अबको योजना चाउमिन उद्योगलाई नै विस्तार र आधुनिकीकरण गर्ने रहेको छ । ‘अटोमेटिक मेसिन पनि पाइन्छ भन्ने सुनेको छु । स्टिमर र ड्रायर पनि राख्ने र उद्योगलाई आधुनिकीकरण गर्ने नै हो,’ उनले भने ।