सरकारी निकायसँग छैन मानव बेचबिखनबारे तथ्यांक
Wednesday, August 18th, 2021, 1:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ भदौ
पश्चिम नेपालको भारतसँग जोडिएको एक मुख्य सीमानाका भएकोले बाँके जिल्ला मानव बेचबिखन र ओसारपसारका दृष्टिकोणले संवेदनशील जिल्ला हो । तर यहाँका सरकारी निकायसँग मानव बेचबिखनको अवस्थाबारे कुनै तथ्यांक छैन । नेपालगञ्ज उप-महानगरपालिकाको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिले मंगलबार मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले सरकारी निकायले तथ्यांकका आधारमा रणनीति निर्माण गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।
अधिकारकर्मी प्रकाश उपाध्यायले हालसम्म जिल्लामा सरकारी निकाय अन्तर्गत रहेका मानव बेचबिखनविरुद्धका समितिहरुले तथ्यांक नराख्ने गरेको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्न आग्रह गरे ।
नेपालगञ्ज उप-महानगरपालिकाका उपमेयर एवं कार्यबाहक प्रमुख उमा थापामगरले पनि तथ्यांक राख्ने काम हालसम्म हुन नसकेको तर अब त्यसतर्फ पहल सुरु भइसकेको बताइन् । ॅहामीले सबै वडासम्म मानव बेचबिखनविरुद्धको संयन्त्र बनाउँदै छौँ । त्यहाँबाट आउने तथ्यांक अभिलेखिकरणको काम पनि हामी सुरु गर्दैछौँ,’ थापामगरले भनिन् ।
नेपालगन्ज उप-महानगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कार्यविधि बनाइसकेको छ ।
कार्यविधिमा आधारित भएर भदौ महिनाभित्रै सबै वडामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरिसक्ने थापामगरले बताइन् । ‘१६ वटा वडामा समिति बनाइसकेका छौं । अरुमा गठनको प्रक्रिया चलिरहेको छ,’ उनले भनिन्, ॅभदौ महिनाभित्रै सबै वडामा समिति गठन गरिसक्छौं ।’
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्लास्तरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिका सदस्य सचिव दीर्घराज उपाध्यायले पनि जिल्ला सबै स्थानीय तहमा मानव बेचबिखनविरुद्धको सन्जाल निर्माण गरी अभिलेखिकरणको सुरुवात गर्न लागिएको कार्यक्रममा जानकारी दिए ।
साथै कार्यक्रममा सहभागी सरोकारवालाले सुरक्षा निकायले मानव बेचबिखनविरुद्ध सक्रियता बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । सुरक्षा व्यवस्थाको चुस्ततामाथी प्रश्न उठाउँदै अधिवक्ता लोकबहादुर शाहले भने, ॅअहिलेसम्म मानव बेचबिखन र लागु औषध कारोबारका मुख्य नाइकेहरु समातिएका घटनाहरु एकदमै कम छन् । समातिनेहरु प्रायः भरियामात्रै हुन्छन् । उनीहरु पनि राजमार्ग र मुख्य सडक क्षेत्रबाटै पक्राउ परेका छन् । यसरी राजमार्गबाटै खुलेआम अपराध गर्न अपराधीहरुलाई हिम्मत कहाँबाट आइरहेको छ ? र किन मुख्य नाइकेहरु पक्राउ पर्दैछनन् ?’
साथै उनले मानव बेचबिखनका मुद्धामा अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले सीमापार हुने मानव बेचबिखनका साथै देशभित्रै भइरहेका विभिन्न प्रकृतिका मानब बेचबिखन नियन्त्रणमा ध्यान दिन सुझाव दिए ।
छलफल कार्यक्रममा सहभागीहरुले मानव बेचबिखनविरुद्ध सचेतना बढाउनु पर्ने, रोकथामलाई प्राथमिकता दिनु पर्ने, र साक्षी तथा पीडितको सुरक्षा हुनुपर्ने र सामाजिक सन्जालको प्रयोगबारे पनि शिक्षा दिइनुपर्ने आवश्यकता औँल्याएका छन् ।