७ जनालाई रोजगारी दिएका ३१ वर्षीय इलेक्ट्रिसियन
Thursday, August 19th, 2021, 2:41 pm
Kalpristha
सानो एक कोठे खुद्रा पसल छ । हेर्दा साधारण भएतापनि त्यस पसलले उनको तीनजनाको परिवारको जिविकोपार्जनदेखि अन्य सातजनालाई पनि रोजगारी दिएको छ । जसमा दुईजनालाई त उनले महिनावारी तलब नै दिएर राखेका छन् भने अन्यलाई दैनिक ज्यालादारीमा राखेको मगर बताउँछन् ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३ भदौ
नेपालबाट वर्षेनी लाखौं युवा रोजगारीका सिलसिलामा प्रदेश गइरहेका छन् । ती युवाहरुमध्ये अधिकांशको भनाइ ‘नेपालमा रोजगारी नै छैन’, ‘नेपालमा जे गरेपनि केही हुँदैन’, ‘नेपालको कमाइ नै देखिदैन’, ‘नेपालमै बसेर केही व्यापार गरौं भने लगनी नै लगाउन सकिँदैन’ जस्ता रहने गर्दछन् । तर ती भनाइलाई गलत सावित गर्न सक्षम छन्, नेपालगन्जमा आफ्नै पसल खोलेर इलेक्ट्रिसियनको काम गर्दै आइरहेका ३१ वर्षे प्रताप बुढा मगर ।
नेपालगन्ज उप-महानगरपालिका-१, विशाल चोक नजिक एउटा सानो सटर भाडामा लिएर दिनभर काममा व्यस्त हुने मगर नेपालगन्जमा दक्ष इलेक्ट्रीसियनका रुपमा परिचित छन् ।
उनको सानो एक कोठे खुद्रा पसल छ । हेर्दा साधारण भएतापनि त्यस पसलले उनको तीनजनाको परिवारको जिविकोपार्जनदेखि अन्य सातजनालाई पनि रोजगारी दिएको छ । जसमा दुईजनालाई त उनले महिनावारी तलब नै दिएर राखेका छन् भने अन्यलाई दैनिक ज्यालादारीमा राखेको मगर बताउँछन् ।
……….
बर्दियाको बढैयाताल गाउँपालिका-४ का स्थायी बासिन्दा मगर न्यून आयस्रोत भएको परिवारका सदस्य थिए । खेतीकिसानी बाहेक अन्य आम्दानीको स्रोत नभएका कारण खानलाउन नै हम्मे-हम्मे हुने गरेको मगरले स्मरण गर्छन् । ‘हाम्रो ६/७ जनाको परिवार कृषि कर्मबाट चल्ने गथ्र्यो । कति दिन त बिहान बेलुका के खाने भन्ने पनि हुन्थ्यो ?’ मगर सम्झन्छन् ।
आर्थिक समस्याका कारण मगरको जीवन सानै उमेरबाट आर्थिक जोहोमा जुट्न पुग्यो । उनी कक्षा ६/७ कक्षामा अध्ययन गर्दादेखि नै छुट्टीको समयमा नेपालगन्जसम्म आएर होटलहरुमा काम गर्ने गरेको उनी बताउँछन् ।
मगरले भने, ‘परीक्षा सकिएपछि, वर्षे विदा जस्ता छुट्टीको समयमा नेपालगन्जमा आएर होटलमा काम पनि गरियो । फेरी स्कुल सुरु भएपछि काम छोडेर घर गइन्थ्यो ।’
………
मगर सानै उमेरदेखि नै विद्युतीय काममा अधिक रुचि राख्थे । गाउँघरमा सामान्य तार जोड्ने, बल्ब जोड्ने, स्वीच फेर्नेजस्ता कामहरु ७ कक्षा हुँदादेखि नै गर्ने गरेको मगरले स्मरण गरे । उनको यही विद्युुतीय कामको लगावले मगरलाई पुनः नेपालगन्ज ल्याई पुर्यायो ।
नेपालगन्ज आएपछि मगरले विद्युतीय कामलाई नै निरन्तरता दिए । उनले एसएलसीपछि भेरी टेक्निकल कलेजमा इलेक्ट्रीसियन अध्ययन गरे ।
प्रताप भन्छन्, ‘पढाइ गर्दै इलोक्ट्रिकसम्बन्धी सैद्धान्तिक पढाइसँगै सीप पनि सिक्थें । बिहानै उठेर ६ बजेदेखि ९ बजेसम्म कलेज जान्थे । फर्केर दिउँसो कटेजमा काम गर्न जान्थे । दिउँसो १२ बजेदेखि २ बजेसम्म छुट्टी हुन्थ्यो । यति बेला अरु नुवाई धुवाई आराम गर्न जान्थेँ । म चाहि काम सिक्नको लागि दाईहरुसँग जाने गर्थे ।’
…………
उनले ‘इलेक्ट्रिसियन’ काम सिक्ने क्रममा नेपालगन्जका धेरै पसलमा काम गरे । उनको सिक्ने क्रम करिब दुई वर्षसम्म चल्यो । काम सिक्ने क्रममा ६/७ महिना पैसाबिना नै काम गरेको अनुभव पनि मगर सुनाउँछन् ।
‘काम सिक्ने बेलाका दिन सम्झिँदा त छक्क लाग्छ । कहिले भोकभोकै पनि काम गरियो । कहिले २० रुपैयाँको पकौडा खाएर पनि दिनभर काम गरियो । साइकलमा नेपालगन्ज, भन्सार, खजुरालगायतका ठाउँमा नपुगेको त ठाउँनै छैन होला,’ मगर मुस्कुराउँदै भन्छन् ।
उनले थपे, ‘६/७ महिना काम सिक्दै गरेपछि आफैंलाई अलि काम सिकेको जस्तो लाग्यो । त्यहीबेला मैले हाउस वाइरिंगको काम सिकिसकेको थिए । तर रिपेरिंङको काम गर्न भने अलि हिम्मत आउँदैनथ्यो ।’
अरुसँग काम गरिरहेका मगरलाई आफ्नो छुट्टै काम गर्ने सोच आयो र फाट्टफुट्ट काम पनि सुरु गरे । ‘पहिला खासै पैसा नहुने तर एक्लै काम गर्न थालेपछि दैनिकजसो ३/४ सयसम्म कमाई हुन थालेपछि आफैलाई हौसला आयो,’ मगरले भने ।
यसरी काम गर्दै जाँखा मगरले विभिन्न ठेक्कापट्टाका काम पनि सुरु गरे । लगभग ढेड वर्षको दौरानमा उनले आफूलाई दक्ष ‘इलेक्ट्रिसियन’ रुपमा परिचित गराए । काम गर्दै जाँदा उनले विभिन्न संघ-संस्थामा पनि विद्युतीय काम सम्बन्धी जागिर गरे ।
…………….
कामको सिलसिलामा प्रतापले नेपालगन्जमा रहेको होटल स्नेहमा जागिरको काम पाए । लगभग ४ वर्ष सोही होटलमा न्यून तलबमा प्रतापले काम गरेपनि थप काम सिक्ने अवसर पाएको उनले सुनाए ।
‘स्नेह होटलमा नै मैले सम्पूणर् सिसि क्यामेरा जडान र कम्प्युटरसम्बन्धी काम सिक्ने अवसर पाएको हो । तर त्यहाँ आफ्नालाई मात्र काम दिने भएसी म फेरी पुरानै ठाउँका फर्किएर र पुुनः पुरानै कामलाई दोहोर्याएँ,’ मगरले बताए । मगरले आफूसँगै अन्य व्यक्तिलाई पनि काम दिन सुरु गरे ।
…………
काम गर्ने क्रममा गतवर्ष उनलाई ठुलो क्षति भएको थियो । काम गरिरहेको अवस्थामा घरको छतबाट खसेर उनलाई ठुलो चोट लागेको थियो । जसका कारण उनले केही महिना उपचारमै खर्चिए । यस बाहेक पनि उनले कामको सिलसिलामा धेरैपटक चोटपटक ब्यहोर्नु परेको छ । काम गर्ने क्रममा मृत्युको मुखमा पुगेर पनि बाच्न सफल भएको बताउँछन् उनी ।
ॅकाम गर्ने क्रममा कतिले गाली गर्छन् । कतिले प्रशंसा गर्छन् । कति चोटपटक खाइन्छ । त्यस्ता कुरा त कति छन्, छन् । तर पनि आफ्नो पेशामा मजानै अलग हुन्छ । जुनसुकै काममा पनि जोखिम त भइहाल्छ । त्यसबाट बचेर अगाडि बढ्नु पर्छ,’ मुस्कुराउँदै मगरले भने ।
……….
यसरी १२ वर्षभन्दा बढी समय विद्युतीय कामलाई निरन्तरता दिँदै आएका मगरले विद्युतीय कामसम्बन्धी धेरै कुरा सिकिसकेका थिए । उनलाई सिसि क्यामेरादेखि, थ्री फेज, सिपेरिंङ, इन्भर्टरजस्ता सीपको ज्ञान भइसकेको थियो । सोही क्रममा उनले गतवर्ष स्वास्थानी इलेक्ट्रिक पसललाई जन्म दिए र संचालनमा ल्याए ।
हाल उनलाई व्यापारमा उनकी श्रीमती सीता क्षेत्री बुढामगरले पनि साथ दिँदै आएकी छिन् । उनले सातजनालाई रोजगारी दिनपनि सफल भएका छन् ।
३ लाख रुपैयाँमा सुरु गरेको उनको व्यापारले एक वर्षमा लगभग ८ लाखको फट्को मारेको छ । उनको हालसम्मकै ठूलो ठेक्का नेपालगन्ज नगर भवन सिटी हलमा काम गरिरहेका छन् । त्यस्तै शम्शेरगन्जमा क्रसर, ड्रिमलाण्डको लाइटिंङ, सिद्धार्थ होटलको क्यासिनोमा सम्पूणर् लाइट सि.सि क्यामेरा जडानका काम मगरले नै गरेका हुन् ।
उनी आफ्नो व्यापारलाई सप्लायर्समा परिणत गर्ने सोचका साथ काम गरिरहेको बताउँछन् । उनी आफूले गरेको पेसा सबैभन्दा राम्रो पेसा रहेको बताउँछन् । नयाँ पुस्तालाई पनि यो पेसा अंगाल्न सुझाव दिन्छन् । मगर नेपालगन्जमा सम्पूर्ण ‘इलेक्ट्रिक’ ज्ञान भएका युवाहरुको कमी रहेको बताउँछन् र यसको आवश्यकता पनि धेरै रहेको उनले औँल्याए ।
‘जे-जस्तो भएपनि मलाई मेरो पेशा धेरै राम्रो लाग्छ । म त युवाहरुलाई यस पेसामा आउन आग्रह गर्छु । यदि कोही व्यक्ति इलेक्ट्रिसियन सम्बन्धी काम सिक्न चाहन्छ भनेपनि म सहयोग गर्न तयार छु,’ प्रतापले भने ।