लघुकथा : घाटे
Saturday, September 4th, 2021, 4:37 pm
Kalpristha
–छविलाल खड्का
विहे भएको तीन महिनामा नै उपचार गर्न काठमाण्डौ ल्याएको श्रीमती तारालाई दैवले चुँडेर लगी, पैसा नभएर आर्यघाटमा आफैले श्रीमतीको लास जलाउनु पर्दाको अवस्थाले भूषणलाई यही पेसा घाटे बनायो ।
उसका साथीहरू काम विशेषले अनुपस्थित थिए । त्यसैले आज उसकोे भाग्य चम्क्यो । एकलौटी काम पायो । मध्यान्ह भित्रै चार वटा लास दहन गर्न पायो । गोजीको बत्तीस सय सम्झेर मुसुक्क मुस्कुरायो । खल्तीमा दाम भरेपछि किन हो हिजो अस्ति हीनताबोध हुने उसको पहिचान शब्द घाटे पनि प्यारो लाग्यो । यसरी कमाई हुने भए चार पाँच वर्षमा एउटा घर कसो नबल्ला ?! अनि त रजनी सँगको नयाँ प्रेम सम्बन्धलाई घरजम गर्ने सपना पुरा हुनेछ ।
मुस्कुराउँदै भूषणले मोबाइल हेर्यो । एक बजेछ । चियाको तलतल जाग्यो । तलतल मेट्न साइँलीको चिया पसलमा छिर्यो ।
‘सेवारो है साइँली सेवारो । मिठो चिया पिउँ त ।’ साइँलीलाई हेर्दै भन्यो ।
’सेवारो घाटे दाइ । आज त एक्लै हो कि क्या हो ?’ साइँलीले जिज्ञासा राखी ।
‘हो नि त’ गाला मुसार्दै भूषण बोल्यो ।
चिया पिउँदा पनि उसको ध्यान घाट तिर नै थियो ।
एउटा शववाहन गाडी हुइँकिँदै आयो । ऊ खुसीले जुरुक्क उठ्यो । सोच्यो – ‘ल आठ सय त पाक्यो’
ल साइँली । ‘एक्लै छु, जान्छु है । फेरी कोही आउला ।“
लास झार्दै थिए । उसले भन्यो – ‘आफ्नो मान्छे को हुनुहुन्छ ? बिल काट्न आउनुहोस् ।’
बिल काट्यो । पण्डितले अह्राएअनुसार कर्म गरेर चितामा चढाइयो । अन्तिम मुख हेर्ने भनेर कपडा हटाइयो । भूषणको आँखा चेहरामा पुग्यो । ऊ अचानक चिच्यायो – ‘रजनी’ लासलाई अँगालोमा बेर्दै भन्यो, ‘म घाटे हुँ ! राजा हरीश्चन्द्र होइन ।’