स्थायी राजधानीको गुरुयोजना नै पूरा भएन
Wednesday, October 6th, 2021, 6:00 am
Kalpristha
राजधानी घोषणा भएको एक वर्ष बितिसक्दा एउटा मन्त्रालयको ब्यानर मात्रै स्थायी राजधानीमा आइपुगेको छ । मन्त्रालयका मन्त्रीदेखि कर्मचारीहरु भने अस्थायी राजधानीमै बस्ने गरेका छन् । प्रदेश राजधानीका लागि आवश्यक पर्ने प्रदेशसभा भवन र राजधानीको गुरुयोजना निर्माणको काम सुस्त छ ।
लिलाधर वली
दाङ, १९ असोज
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको एक वर्ष पूरा भएको छ । प्रदेशसभा स्थापना भएको तीन वर्षपछि गतवर्ष असोज २० गते लुम्विनी प्रदेशसभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो ।
प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २ नम्बर र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर राजधानी घोषणा भएपछि प्रदेशका संरचना स्थायी राजधानीमा सर्ने र त्यहीअनुसारका संरचनाहरु निर्माण हुने जनतामा अपेक्षा थियो । तर राजधानी घोषणा भएको एक वर्ष बितिसक्दा एउटा मन्त्रालयको ब्यानर मात्रै स्थायी राजधानीमा आइपुगेको छ । मन्त्रालयका मन्त्रीदेखि कर्मचारीहरु भने अस्थायी राजधानीमै बस्ने गरेका छन् । प्रदेश राजधानीका लागि आवश्यक पर्ने प्रदेशसभा भवन र राजधानीको गुरुयोजना निर्माणको काम सुस्त छ ।
सम्झौताअनुसार यही असोज महिनाभित्र प्रदेशभा हल र प्रदेशको राजधानी विकासका लागि आवश्यक पर्ने गुरुयोजना निर्माणको काम सम्पन्न हुनुपर्ने हो तर अहिलेसम्म काम पुरा हुन नसकेको प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । प्रदेशसभा भवन यही असोज २७ गतेसम्म निर्माण सक्नुपर्ने भएपनि करिव २० प्रतिशत मात्र काम भएको प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । प्रदेशसभा भवनको त जग बसाल्ने काम मात्रै भएको छ ।
प्रदेशको स्थायी राजधानी घोषणा भएको ठाउँलाई राजधानीका रुपमा विकास गर्नका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसका कारण काममा बाधा उत्पन्न हुँदा प्रदेशको गुरुयोजना निर्माणमा केही ढिलाई भइरहेको प्रदेश पूर्वाधार प्राधिकरणका आर्किटेक्ट ईन्जिनियर बासुु पौडेलले जानकारी दिएका छन् । ‘सम्झौता अनुसार अहिलेसम्म प्रदेशसभा र गुरुयोजना निर्माणको काम सक्नुपर्ने हो । कोरोना भाइरसका कारण केही समय काम गर्न नपाउँदा निर्माणमा केही ढलाई भएको छ’, ईन्जिनियर पौडेलले भने,‘फाउण्डेशन निर्माणको काम भइसकेकाले बाँकी काम चाडै बन्ने छ ।’
उनले यही वर्ष प्रदेश राजधानी निर्माणका लागि अन्य संरचनाहरु निर्माणको काम सक्नुपर्ने भएकोले गुरुयोजना निर्माणको काम चाडै सक्न परामर्शदाता सितारा इकोकोड टेक्नोक्याट् जेभी काठमाडौंलाई ताकेता गर्ने काम भैरहेको बताए । प्रारम्भिक प्रतिवेदन तयार भएपनि विस्तृत विवरण तयार हुन नसकेको उनले जानकारी दिए ।
‘परामर्शदता कम्पनीले प्रदेश राजधानी तोकिएको स्थानमा मन्त्रालयहरु कहाँ-कहाँ बनाउने, कसरी बस्ती बसाल्ने, मनोरञ्जन क्षेत्र, आर्थिक क्षेत्र, खनिज पदार्थ राख्ने क्षेत्रलगायतका विषयमा विस्तृत अध्ययन गरेर छुट्याउनुपर्ने छ,’ उनले भने, ‘तर हामीले अहिले बाँकी कामहरुलाई पछि गरेपनि तत्कालका लागि प्रदेश राजधानीका लागि आवश्यक मन्त्रालयहरु राख्ने भनेको राप्ती प्रादेशिक शिक्षालय क्षेत्रको ४० हेक्टर क्षेत्रको गुरुयोजना तयार गर्न निर्देशन दिएका छाँै । त्यहीअनुसार कम्पनीले काम गर्दैछ ।’ यसले गर्दा प्रदेश राजधानीका लागि आवश्यक पर्ने मन्त्रालयहरुको काम निर्माण यही वर्षदेखि सुरु हुने उनको भनाइ छ ।
प्रदेश सभा भवन निर्माणको काममा पनि ढिलाई भएको छ । यही असोज २७ गतेसम्म निर्माण भैसक्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म सभाहलको फाउण्डेशन निर्माण गरेर पिलरहरु ठड्याउने तथा सौचालय निर्माणलगायतको करीब २० प्रतिशत मात्रै काम भएको प्राधिकरण कार्यालयले जनाएको छ । करिब पाँच करोड २१ लाख बढीको लागतमा एमएस ड्रगन बस्नेत जेभीले करिब तीन सय जना अट्ने सभाहल निर्माणको काम गरिरहेको छ ।
सम्झौता मिति अनुसार सभाहल निर्माणको काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको प्राधिकरणका आर्किटेक्ट इन्जिनियर पौडेलले बताएका छन् । ‘नेपाली मौलिक कला सस्कृति झल्कने गरी प्रिफेप डिजाइनमा सभाहल निर्माणको काम भैरहेको छ’, उनले भने, ‘जमिन सतहसम्मको काम सकिएको छ । बाँकी निर्माणको काम भइरहेको छ ।’ पौडेलले प्रिफेप डिजाइनमा सभाहल निर्माणको काम भैरहेकाले अबको काम चाडै हुने समेत दावी गरे ।
प्रदेश राजधानी घोषणा भएपछि पहिलोपटक स्थायी राजधानीमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको उद्घाटन गरिएको थियो । त्यसभन्दा पहिले प्रदेश विकास प्राधिकरण कार्यालय र प्रदेश राजधानी व्यवस्थापन कार्यालय स्थापना भएका छन् । तर प्रदेश विकास प्राधिकरण कार्यालय बाहेकका अन्य मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु छैनन् । बजेटको सुनिश्चिततासँगै प्रदेशसभा भवन निर्माण भएपछि स्थायी राजधानी भालुवाङमा कर्मचारी आउने मन्त्रालयका एक कर्मचारीले बताए ।