अल्लोलाई ‘ब्रान्ड’ बनाउँदै चित्रकली
Friday, January 28th, 2022, 11:00 am
Kalpristha
–विक्रम बुढाक्षेत्री
अघिल्लो हप्ता हामीले अल्लोका सामान उत्पादनबाट उत्कृष्ठ उद्यमी बनेकी प्रेमकुमारी पुनको सफलताको कथा प्रस्तुत गरेका थियौँ । अल्लोबाटै उदाहरणीय उद्यमी बनेकी प्युठान स्याउलीवाङकी चित्रकली बुढामगरको सफलताको कथा प्रस्तुत गर्दैछौं ।
नेपालगन्जमा आयोजित महिला उद्यमीका उत्पादनको प्रदर्शनीमा सहभागी चित्रकली र उनका श्रीमान् खिमबहादुर बुढामगर सँग हामीले कुरा गर्न खोज्दा खिमबहादुरले मुस्कुराउँदै जवाफ दिए, ‘अल्लोको बारेमा त मलाई भन्दा उसैलाई थाहा छ । उसैसँग कुरा गर्नुहोस् ।’
उनीहरुका अनुसार अल्लो उद्योगको सम्पूणर् बागडोर चित्रकलीको हातमा छ । सानैमा उनको बिहे खिमबहादुरसँग भएको थियो । श्रीमान् र परिवारका सदस्यले उनलाई सघाउँछन् । अल्लोकै उत्पादन लिएर चित्रकली देश विदेशपुगिसकेकी छन् । उनको उद्योगमा उत्पादित अल्लोका कपडा अहिले साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुरसम्म निर्यात हुने गरेको चित्रकली बताउँछिन् ।
अल्लोबाट बनेका टोपी, आस्कोट, कोट, जुहारी कोट, झोला, पर्स, सल लगायतका सामानहरु तयार गरेर उनीहरु विभिन्न मेला महोत्सवमा पुग्छन् । उनीहरु जहाँ जान्छन् त्यहाँ उनीहरुले तयार गरेका उत्पादनहरु आकर्षणका केन्द्र बन्छन् ।
चित्रकलीले पनि आमाबाटै अल्लोका सामान बनाउन सिकेकी थिइन् । त्यही सीपले उनलाई अहिले एक सफल उद्यमी बनाएको छ ।सम्मान र पुरस्कार दिलाएको छ । यसका साथै कयौँलाई उनले गरेको कामले प्रेरणा र हौसला दिएको छ । प्युठानका विपन्न समुदायका महिलाहरु उनको उोगका लागि धागो बनाउने देखि कपडा निर्माणमा संलग्न भएर रोजगार बनेका छन् ।
२०५७ तिर अल्लोको धागो कारोबार गरेकी उनले २०६२ मा लघु उद्यम कार्यक्रमबाट कपडा बुन्ने तालिम लिइन् । २०६३ मा उद्योग दर्ता गरिन् । डेढ लाख लगानीमा खुलेको कोठी हिमाल अल्लो कपडाउद्योगमा हाल करिब ८० लाख लगानी रहेको चित्रकली बताउँछिन् ।
अल्लोका तयारी पोशाक विदेशमा राम्रो माग भएपनि स्वदेशभित्रै सन्तोषजनक खपत नरहेको चित्रकली बताउँछिन् ।
नेपालीहरुमा विस्तारै विस्तारै स्वदेशी उत्पादनको उपभोग गर्नुपर्छ भन्ने भावना विकास भएसंगै अहिले सबैले अल्लोको कपडा खोजी खोजी लगाउने गरेको उनको भनाइ छ । स्वदेशी उत्पादनको विकाससंगै स्थानीय उत्पादन उपभोग गर्नुपर्छ भन्ने मान्यता गाँउमा भन्दा शहरमा बढेर गएको भन्दै उनले खुसी व्यक्त गरिन् । आज भोलि सरकारी तथा गैरसरकारी कार्यालयहरुले अल्लोको सामानलाई मायाको चिनोको रुपमा प्रयोग गर्ने गरेको उनी बताउँछिन् । प्युठान जिल्लाको नौबहिनी गाउँपालिकाका ४५ जना प्रतिनिधिहरुले पोशाक (ड्रेस) को रुपमा कोट लगाएर अल्लोको उत्दानलाई प्रोत्साहन गर्ने गरेको उनले बताइन् । यसले आफूहरुलाई काममा थप हौसला मिलेको उनको भनाइ छ ।
उनले उत्पादन गरेका सामानहरु ५० रुपैया देखि ९ हजारसम्मका छन् । आफ्नै देशमा पाइने कच्चापदार्थ उत्पादन हुने सामान बाहिरबाट किनेर स्वदेशी पैसा विदेशमा पठाउनु भन्दा दुई चार पैसा मंहगो परे पनि गुणस्तरीय र स्वदेशी उत्पादन गर्नुपर्नेमा उनको जोड छ । सुरुमा आफू एक्लै होमिएर सानो पुर्खौली पेशाबाट अहिले उनले १५ जनालाई प्रत्यक्ष र हजारौ जनालाई अप्रत्यक्ष रुपमाा रोजगारी दिदै आएको बताइन् ।
नौवहिनी गाउँपालिकाको केन्द्र बाहाने बजारमा उनले उद्योग सञ्चालन गरेकी छन्। गाउँगाउँबाट चाल्ने सिस्नो अर्थात् मगर भाषामा पुवाको रेसा बनाएर महिलाहरूले उनको उद्योगमा पुर्याउँछन्।
कक्षा ६ सम्म पढेकी ५४ वर्षीया चित्रकली जिल्लामा अल्लो अभियन्ताको रूपमा स्थापित छिन् । अल्लोका उत्पादनलाई ‘ब्रान्ड’ बनाउनेअभियानमा उनी सफलताउन्मुख छिन् । उनी लुम्बिनी प्रदेश सरकारबाट प्रदेश रत्न पदकबाट समेत विभूषित भएकी छन् । अल्लोले नै उनलाई दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान दिलाएको छ । अल्लोबाटै उनी देशविदेश घुमेकी छन् ।
अल्लोका कपडा लगाउँदा उच्च रक्तचाप भएका बिरामीलाई धेरै फाइदा हुने उनी बताउँछिन् । उनका २ छोराहरू पनि अहिले व्यावसायिक सिस्ने खेती गरी आमाले शुरू गरेको उद्यममा जोडिएका छन् ।
बुढामगरले प्यूठान घुम्न आउने पर्यटकहरूका लागि फर्किंदा लैजाने चिनोको रूपमा ‘अल्लो’ एउटा गतिलो कोसेली बनाएकी छन् । बजारका रेडिमेट सामग्रीको तुलनामा अल्लोका सामग्री उत्पादन गर्न मेहनत र खर्च धेरै लाग्ने भएकाले बजार मूल्यभन्दा महंगो हुने उनको भनाइ छ ।स्वदेशी र मौलिक उत्पादनको बजारीकरणको जिम्मा राज्यले लिइदिएमा यस उद्योगले ठूलो मात्रामा रोजगारी र आर्थिक उपार्जन दिने चित्रकलीको दाबी छ ।
नोटः स्थानीयस्तरमा आफनो सीप, क्षमता र स्रोतलाई उपयोग गरेर उद्योग, व्यावसाय र व्यापार उदाहरणीय काम गरेका थुप्रै युवाहरु छन् हाम्रो समाजमा । ती युवाहरुको आट अनि साहसलाई सम्मान गर्दै उनीहरुको सफलताको कथालाई आमजनता सामु पस्कने उद्देश्य सहित कालपृष्ठ टिमले ‘स्थानीय ब्रान्ड’ स्तम्भको सुरुआत गरेको हो । तपाईको घर छिमेक वा समुदायमा यदि त्यस्ता युवाहरुले गरेको उदाहरणीय काम छ भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध छ । हामी ती युवाहरुको सफलतको कथा लेख्नेछौं, सुनाउनेछौं र देखाउने छौं आमदर्शकलाई ।
हामीलाई सम्पर्कका लागिः मो.नम्बर ९८५८०४१२१०, kalpristha.news@gmail.com