प्यूठान नगरपालिका-९ मरन्ठानाकी दुर्गा केसी २०५८ सालअघि एक गृहिणी मात्रै थिइन् । तर अहिले उनी एक साबुन उद्योगी बनकी छन् । त्योपनि च्युरीको अर्गानिक साबुन उत्पादन गरेर केसीले एक उदाहरणीय महिला उद्यमीको परिचय बनाएकी छन् । गाउँघरमै उपलब्ध कच्चा पदार्थबाट साबुन उत्पादन गर्ने केसीले विभिन्न सम्मान र पुरस्कार पाइरहेकी छन् ।
चिउरीको साबुन मानव स्वास्थ्यका लागि लाभदायक छ । च्युरीको घ्युबाट बन्ने साबुनले छालाको चाउरी, खस्रोपना, दाग र चाया हराउने तथा कपाल चम्किलो पार्ने गर्दछ । साथै नरम बनाउने गर्दछ । चिउरीको साबुनले छालालाई कुनैप्रकारको हानी पुर्याउँदैन ।
गाउँमै पाइने चिउरीको घिउ, नरिवलको तेल, केस्टक तेल (आर्युवेदिक) र काष्टिक सोडा तेल प्रयोग गरी साबुन बनाइन्छ । आवश्यकताअनुसार क्यामोमाइल, मेन्था, टिमुर, पामारोजालगायत सुगन्धित तथा जडिबुटीको प्रयोग गरिन्छ ।
चिउरी २०-२५ मिटरसम्म अग्लो हुने रुख वर्गको वनस्पति हो । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उचाईमा यो वनस्पति पाइन्छ । गाउँघरमा चिउरीको बीउबाट घ्यू बनाइन्छ । जुन घ्यु खानाका साथै औषधिकारुपमा पनि प्रयोग हुँदै आएको छ । वनस्पतिबाट बन्ने घ्यू भएकाले पूजाआजामा बढी प्रयोग गरिन्छ ।
गृहीणीको रुपमा घरभित्रै अल्झिएर बसेकी दुर्गाले २०५८ सालमा लघुउद्यम विकास कार्यक्रमबाट साबुन बनाउने तालिम लिने अवसर पाइन् । त्यही अवसर नै उनको जीवनको मुख्य घुम्ति साबित भयो । उक्त तालिमपछि उनले थाहा पाइन्, गाउँघरमै प्रशस्त मात्रमा रहको च्युरीबाट हरेक मानिसले उपयोग गर्ने साबुनको उत्पादन गर्न सकिन्छ ।
त्यो बेला देशमा सहज व्यवसायिक वातावरण थिएन । माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादी द्वन्द्वको बढी प्रभाव परेको जिल्लामध्ये एक थियो प्युठान ।
लगानीको जोहो र कच्चापदार्थको जोरजाममा उनलाई सुरुवातमा निकै संघर्ष गर्नुपर्यो । कृषि विकास बैंकबाट ऋण लिएर उनले ॅझिमरुक हर्बल साबुन उद्योग’ सुरु गरिन् । च्युरीको घ्युबाहेक अन्य कच्चा पदार्थ ल्याउन काठमाडौं जानुपर्दा त्यतिखेर उनले सिडिओको सिफारिस लिनदेखि अनेक झन्झटको सामना गर्नुपर्यो । सुरुवातमा थोरै-थोरै उत्पादन गर्दै दुर्गाले घरेलु उद्योगककारुपमा साबुनको उत्पादनलाई जारी राखिन् ।
उत्पादन त भयो । तर बजारमा अनेक आकर्षक प्याकेजमा सुगन्धित साबुनको बर्चश्व थियो । साबुनको बजारीकरणमा पनि दुर्गाले गरेर सिक्नुपर्ने बाटोबाट गुर्जिनुपर्यो । बिस्तारै मेला महोत्सवमा उनीहरुले उत्पादन लिएर जान थाले । प्याकेजिङलाई आकर्षक बनाउँदै गए ।
दुर्गाले उद्योग सुरु गरेपछि सामाजिक संघसंस्थामा पनि सहभागिता जनाउन थालिन् । उनी आबद्ध महागुठी संस्थानमा विदेशी विज्ञहरु आएका बेला उनको उद्योगसम्म्म लैजाने र उनीहरुबाट प्रतिक्रिया लिँने गर्न थालिन् । एकपटक जापानीहरु आएका बेला पनि उनले उद्योग भ्रमण गराइन् । जापानीहरु उनको काम देखेर अति प्रभावित भए र उनलाई १० दिने कार्यशालामा आफ्नो अनुभव सुनाउन जापान बोलाए । १० दिन जापान बसेर त्यहाँस्थित साबुन उद्योग हेर्ने र नयाँ कुरा सिक्ने अवसर पनि पाइन् । त्यसपछि उनका साबुन जापान पनि पुगे । कोरोना नआएको भए उनको साबुनले जापानको बजार निरन्तरता पाइरहेको हुने थियो ।
यद्धपि अहिलेपनि उनको साबुनको माग उच्च छ । हर्बल साबुुनवारे थाहा पाएर देशका विभिन्न जिल्लाबाट अवलोकनका लागि मानिसहरु उद्योगमा आउने गरेका छन् । केही व्यापारीहरुले उनका साबुनहरु लिएर बिक्रीवितरण पनि गरिरहेका छन् । यसबाहेक मेला महोत्सवमा दुर्गाको झिमरुक हर्बल साबुन उद्योगका उत्पादनहरु आकर्षणका केन्द्र बन्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा धाउनु दुर्गाको नियमित कार्य भइरहेको छ ।
४५ हजारको लगानीमा सञ्चालनमा आएको झिमरुक साबुन उद्योगको पुँजी स्थापना भएको दुई दशकमा करिब १२ लाखभन्दा बढीको भइसकेको छ । उद्योगमा गाउँका आधा दर्जन बढीलाई रोजगारी प्रदान गरिएको छ । लद्यु उद्यमबाट तालीम लिएर सञ्चालन गरेको उद्योग फस्टाउँदै गएपछि स्थानीयवासी महिलाले समेत त्यसप्रति चासो राख्न थालेका छन् ।
स्थानीय सरकारले पनि उनको उद्योगका उत्पादनलगायत स्थानीय उत्पादन बृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थानीयस्तरमा हुने मेला, महोत्सव तथा कार्यक्रममा मायाको चिनोस्वरुप साबुन दिने गरिएको छ । नगरपालिकाले राहत वितरण गर्दा पनि हर्बल साबुनसमेत प्रदान गर्ने गरेको छ ।
एक सामान्य गृहिणीबाट अनेक संघर्ष गर्दै स्थानीय कच्चापदार्थबाट बहुउपयोगी वस्तु उत्पादन गरिरहेकी दुर्गाले एक्लैले तीन छोरी र एक छोरालाई हुर्काई, बढाई र पढाई गराएर बिहे पनि गराइसकेकी छन् । अनेक उतारचढाव आएपनि उद्योगलाई अझै उचाई दिने दुर्गाको हिम्मतमा कमी आएको छैन ।
सरकारले स्थानीय उत्पादनको बजारीकरणमा राज्यले प्रभावकारी नीति बनाउने हो भने आफूजस्ता धेरै महिलाहरु उद्यमी बन्नसक्ने दुर्गाको मत बुझाई छ ।
नोटः स्थानीयस्तरमा आफनो सीप, क्षमता र स्रोतलाई उपयोग गरेर उद्योग, व्यावसाय र व्यापार उदाहरणीय काम गरेका थुप्रै युवाहरु छन् हाम्रो समाजमा । ती युवाहरुको आट अनि साहसलाई सम्मान गर्दै उनीहरुको सफलताको कथालाई आमजनता सामु पस्कने उद्देश्य सहित कालपृष्ठ टिमले ‘स्थानीय ब्रान्ड’ स्तम्भको सुरुआत गरेको हो । तपाईको घर छिमेक वा समुदायमा यदि त्यस्ता युवाहरुले गरेको उदाहरणीय काम छ भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध छ । हामी ती युवाहरुको सफलतको कथा लेख्नेछौं, सुनाउनेछौं र देखाउने छौं आमदर्शकलाई । हामीलाई सम्पर्कका लागिः मो.नम्बर ९८५८०४१२१०, kalpristha.news@gmail.com