जसको एउटा समाचार परिवर्तन भएको गाभर भ्याली
Sunday, March 20th, 2022, 9:04 am
Kalpristha
होमस्टे शुरू गरेको दुई वर्षपछि २०७२ सालमा मात्र उनी त्यही व्यवसायलाई प्रवद्र्धन गर्न श्रीमतीसहित गाउँ फर्किए । उनी गाउँ फर्केपछि गाभरको मुहार नै परिवर्तन भयो ।
मुकेश पोखरेल
कृष्णले २०६८ सालमा आफ्नै गाउँ गाभरबारे समाचार लेखेका थिए । समाचारमा हाल वैजनाथ गाउँपालिकामा पर्ने गाभर क्षेत्रको पर्या–पर्यटन विकास र होमस्टे सञ्चालनको संभावना उल्लेख थियो ।
‘बाघ अवलोकन तथा हात्ती सफारीका लागि आउने प्रकृतिप्रेमीका लागि गाभर भ्याली उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । नेपालगञ्ज र कोहलपुरसँग नजिक भएको संस्कृति र प्रकृतिको आधार बनाएर होमस्टेको विकास गर्न सकिन्छ भन्ने मेरो समाचारको सार थियो‘, उनी भन्छन् ।
सरकारले २०६७ सालमा बाँके जिल्लाको वन क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । २०६७ मै होमस्टे कार्यविधि आएको थियो । यही कारण कृष्णलाई समाचार लेख्न प्रेरणा मिलेको थियो ।
समाचार लेखेपछि नेपालगञ्जबाट गाभर उपत्यका हेर्न आउनेको संख्या बढ्यो । कोहलपुरदेखि सात किलोमिटर उत्तर गएर मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र पसेपछि गाभर उपत्यका पुगिन्छ । राजमार्गदेखि गाउँ पुग्न साइकल र पैदल हिंड्न मिल्ने गोरेटो मात्र भएपछि उनकै अग्रसरतामा सडक खनिएको थियो ।
‘सडक खन्दै गर्दा प्रहरीको हवल्दारसमेत नजाने ठाउँमा एसपी नै पुगेपछि त मानिस डराए नि ! सडक बनाउन लाग्दा हामीलाई पक्राउ गर्न आएको हो कि भन्ने भयो‘, उनी सुनाउँछन् । तर, समाचार पढेर एसपी थापा गाभर भ्यालीको सौन्दर्य हेर्न गएका थिए । उनले स्थानीयलाई थप हौसला दिए ।
विस्तारै गाभर उपत्यकामा ग्रामीण भेगसँग रमाउने उद्योगी व्यापारी आउन थाले । नेपालगञ्जमै बसेर पत्रकारिता गरिरहेका कृष्णले होमस्टे खोल्ने अवधारणा अघि बढाए । गाउँलेको भेला गराए । २०७० सालमा पाँच परिवार होमस्टे खोल्न राजी भए ।
तर, होमस्टेको शुरूआत गर्ने उनी मात्र भए । ‘होमस्टे खोल्ने निर्णय त अरूले पनि गर्नुभयो, तर आँट गर्न सक्नुभएन‘ उनी भन्छन्, ‘मैले सञ्चालन गरेको होमस्टेमा पाहुनाहरू राम्रै आउनुभयो । दुई वर्षपछि राम्रो हुँदोरहेछ भनेर अरूले पनि शुरू गर्नुभयो ।
‘
होमस्टे शुरू गरेको दुई वर्षपछि २०७२ सालमा मात्र उनी त्यही व्यवसायलाई प्रवद्र्धन गर्न श्रीमतीसहित गाउँ फर्किए । उनी गाउँ फर्केपछि गाभरको मुहार नै परिवर्तन भयो । उनी भन्छन्, ‘पाहुनाहरू आएर पैसा कमाउन थालेपछि यो व्यवसाय ठीक रहेछ भनेर सबै जना आकर्षित हुनुभयो ।‘
अहिले गाभर उपत्यकामा १७ घरमा होमस्टे सञ्चालन छ । होमस्टेको नेतृत्वकर्ता उनै छन् । १० घरले होमस्टेका साथै कटेज बनाएका छन् । अहिले गाभरमा मानिसको भीडभाड हुन्छ ।
कोरोनाभाइरसको महामारीले अन्यत्र होटल व्यवसाय ठप्प छन् । गत १ असारदेखि पुनः सेवा सञ्चालन गरेको गाभरका होमस्टेमा भने पाहुना पुग्न थालिसकेका छन् । ‘सधैं बन्द गरेर पनि भएन, हाम्रो त जीविकोपार्जनको माध्यम नै यही हो, सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न शुरू गरेका छौं, पाहुनाहरू राम्रै आउनुभएको छ‘, उनी भन्छन् ।
शुक्रबार र शनिबार मानिसहरूको बढी भीड हुन्छ । दुई दिन परिवारका सदस्यहरूले काम नभ्याउँदा बाहिरकालाई पनि लगाउनुपर्ने उनी बताउँछन् । उनको घरमा ६ जना सदस्य छन् ।
पाहुना थपिंदै गएपछि ठूलो लगानी गरेर संरचना वृद्धि गर्ने क्रम बढेको छ । कृष्णले अहिले ५० लाख लगानी गरेर कटेजका विभिन्न संरचना बनाएका छन् । गाभरका अन्य होमस्टेमा पनि कटेज राखिएको छ । सबैले होमस्टेबाट प्राप्त भएको कमाइ नै लगानी गरेको कृष्ण बताउँछन् ।
कृष्णले गाभर उपत्यका विकासका लागि अग्रणी भएर काम गरेका छन् । वैदेशिक रोजगारमा जाने युवालाई उनले गाउँमै होमस्टे सञ्चालन गर्न लगाए । भिसा रद्द गरेर होमस्टेमा लागेका तीन जना युवा होमस्टेबाट भएको कमाइले दङ्ग छन् ।
होमस्टे र कटेज समेत सञ्चालन गर्ने परिवारको मासिक कमाइ एक लाख हुने सोही ठाउँका सन्तोष जैसी बताउँछन् । उनी भारतबाट फर्केर होमस्टेमा रमाएका छन् ।
गाउँमा होमस्टे फस्टाएपछि बाख्रा, कुखुरा तथा व्यावसायिक रूपमै तरकारी उत्पादन गर्ने पनि बढेका छन् । जसले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।
त्यसबाहेक गाउँमा सडक, पार्क लगायत अन्य विकास निर्माणका कामले पनि गति लिएका छन् । २० बिघा क्षेत्रफलमा पार्क निर्माण भएको छ ।
साभार : हिमाल खबर